
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष उनले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका थिए । उनले आजै पदभारसमेत ग्रहण गरेका छन् । गभर्नर पौडेलले डेपुटी गभर्नर रावललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए ।
डेपुटी गभर्नर रावल २०६२ साल माघ २ गते सहायक निर्देशकका रूपमा बैंक सेवामा प्रवेश गरेका थिए । उनी २०६९ सालमा उप-निर्देशक, २०७५ सालमा निर्देशक हुँदै २०८२ साल जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए । पदोन्नतिपश्चात् उनले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal