
खोटाङ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको करिब दुई सय वर्ष पुरानो सार्वजनिक चौतारा गायब भएको पाँच वर्ष पुगेको छ। स्थानीयले चौतारा रहेको सार्वजनिक जग्गा सम्याएर निजी घरको आँगन बनाइएको आरोप लगाउँदै सरकारी निकायमा उजुरी दिएका छन्।
स्थानीय समुदायको धर्म, संस्कार र सामाजिक परम्परासँग जोडिएको चौतारा २०७८ सालमा निजी घर निर्माण गर्ने क्रममा हटाइएको स्थानीयको दाबी छ। चौतारा हटे पनि त्यससँगै रहेको ‘मूलधारा’ नामले परिचित पुरानो ढुंगेधारा भने अझै कायम छ। परापूर्वकालदेखि खानेपानी, नुहाउने तथा विभिन्न संस्कारमा प्रयोग हुँदै आएको उक्त धारालाई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा संरक्षण गरिएको छ।
भूमि प्रशासन कार्यालय खोटाङमा उक्त स्थानमा दुई कित्ता सार्वजनिक जग्गा दर्ता रहेको देखिन्छ। कित्ता नम्बर २९६ मा सात आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा ‘सार्वजनिक चौतारा’ र कित्ता नम्बर १११२ मा नौ आना दुई पैसा क्षेत्रफलको जग्गा ‘सार्वजनिक धारा’का नाममा दर्ता रहेको जनाइएको छ।
दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’का अनुसार सार्वजनिक चौतारा नजिकै निजी जग्गामा नारायणकाजी श्रेष्ठले विसं २०७८ मा पक्की घर निर्माण गरेपछि चौताराका नाममा रहेको जग्गा निजी आँगनका रूपमा प्रयोग भएको छ।
स्थानीयले चौतारा अतिक्रमणमा तत्कालीन स्थानीय सरकारका जनप्रतिनिधि तथा प्राविधिक कर्मचारीको समेत मिलेमतो रहेको आरोप लगाएका छन्। समस्या स्थानीयस्तरबाट समाधान हुन नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जाने तयारी भइरहेको गुठीका अध्यक्ष श्रेष्ठले बताए ।
यस विषयमा स्थानीयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत उजुरी दिएका छन्। २०८३ साल असार २९ गते गुनासो र साउन ७ गते उजुरी दर्ता गरिएको बताइएको छ। उजुरीपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अतिक्रमण भएको भनिएको जग्गाबारे अध्ययन गर्न जिल्ला प्रशासन कार्यालय खोटाङलाई निर्देशन दिएको जनाइएको छ।
यता, सार्वजनिक जग्गा अतिक्रमणको आरोप लागेका नारायणकाजी श्रेष्ठले भने आफूले सार्वजनिक जग्गा नमिचेको दाबी गरेका छन्। उनका अनुसार आफूले आफ्नो नाममा रहेको पाँच आना तीन पैसा एक दाम जग्गामा मात्र घर निर्माण गरेका हुन् । सार्वजनिक चौतारा रहेको स्थानमा अहिले दिक्तेल-लफ्याङ सडक रहेको उनको भनाइ छ।
स्थानीयका अनुसार चौतारा दिक्तेल बजारका नेवार, बस्नेत, खड्का र दमाई समुदायको धर्म तथा संस्कारसँग गहिरो रूपमा जोडिएको थियो। कसैको मृत्यु हुँदा काजकिरिया, पितृकार्य तथा विभिन्न धार्मिक र सामाजिक संस्कार चौतारामा गर्ने परम्परा रहेको उनीहरू बताउँछन् । नेवार समुदायले वार्षिक रूपमा मनाउने जात्रा समेत सोही स्थानमा विसर्जन गर्ने चलन रहेको जनाइएको छ।
चौतारा हटाएपछि नेवार समुदायले कटेरो बनाएर मृत्यु संस्कार गर्न थालेको र त्यस क्रममा घरधनीबाट दुर्व्यवहार तथा गालीगलौज भएको दिक्तेल बजार सामाजिक गुठीका सचिव सरोज सैँजूले बताए ।
चौतारा प्रयोग गर्न नपाएको विषयमा स्थानीयले दुई वर्षअघि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएका थिए। दुवै पक्षबीच छलफलपछि समितिले २०८१ साल भदौ ७ गते निर्णय गरेको थियो ।
न्यायिक समितिको निर्णयअनुसार स्थानीयले उक्त स्थानमा परम्परागत रूपमा गर्दै आएको संस्कार गर्न पाउने र सार्वजनिक जग्गा दिक्तेल बजार सामाजिक गुठीको संरक्षणमा रहने व्यवस्था गरिएको छ। सोही स्थानमा पाटी तथा चौतारा निर्माण गर्ने र स्थानीय समुदायले परम्परागत रूपमा भोगाधिकार गर्न पाउने निर्णय गरिएको नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक विशन राईले बताए ।
निर्णयपछि दिक्तेल बजारका नेवार समुदायले दुवै कित्ताको जग्गामा काजकिरियाको दशौँ, एघारौँ र बाह्रौँ दिनका संस्कार गर्दै आएको बताइएको छ।
करिब दुई सय वर्ष पुरानो सांस्कृतिक तथा सार्वजनिक सम्पदाको संरक्षण, सार्वजनिक जग्गाको स्वामित्व र निजी प्रयोगसम्बन्धी विवाद अहिले सरकारी निकायको अध्ययनको विषय बनेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal