• Menu

नेपालगन्ज बन्यो जडीबुटी व्यापारको प्रमुख ट्रान्जिट हब, गत वर्ष ८४ करोड बढीको निर्यात

नेपाल प्रफिट

२०८३ भदौ ४, बिहीबार १८:०७

नेपालगन्ज बन्यो जडीबुटी व्यापारको प्रमुख ट्रान्जिट हब, गत वर्ष ८४ करोड बढीको निर्यात

बाँके । बहुमूल्य जडीबुटी संकलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका लागि नेपालगन्ज व्यापारिक ट्रान्जिटका रूपमा विकास हुँदै गएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका डोल्पा, हुम्ला, जुम्ला, मुगु, जाजरकोट, रुकुम, बझाङ र दार्चुलालगायतका दुर्गम क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔँले, जटामसी, कुट्की, तितेपाती, पदमचाललगायतका जडीबुटी भारत पुर्‍याउन नेपालगन्जलाई प्रमुख नाकाका रूपमा प्रयोग गरिँदै आएको नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माले बताए ।

‘कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा उत्पादन तथा संकलन हुने जडीबुटीको भण्डारण तथा विदेश निर्यातका लागि नेपालगन्ज प्रमुख ट्रान्जिटका रूपमा विकास भएको छ,’ उनले भने ।

पहाडी तथा हिमाली क्षेत्रबाट सडक र हवाई मार्गमार्फत जडीबुटी  नेपालगन्ज पुर्‍याइन्छ । यहाँबाट भारतीय सीमानाका जोडिन, जडीबुटी भण्डारणका लागि नेपालगन्ज र आसपासका क्षेत्रमा ठूला गोदाम तथा प्रशोधन केन्द्र रहेका छन् ।

निर्यात प्रक्रियामा देखिने कानुनी प्रावधान र प्रमाणीकरणको ढिलासुस्ती, कच्चा पदार्थकै रूपमा निर्यात गर्दा उचित मूल्य नपाइनु र आधुनिक प्रशोधन प्रयोगशालाको अभाव हुनु, भारततर्फको निर्यातमा बेलाबेलामा देखिने क्वारेन्टाइन तथा गैर-भन्सार अवरोध जस्ता चुनौती रहेको नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष शर्माले बताए ।

नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष ०८२/८३ मा ८४ करोड २६ लाख ७४ हजार बराबरको जडीबुटी निर्यात भएको छ  । गत आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट ३७ लाख तीन हजार आठ सय ६१ किलो बराबरका विभिन्न प्रकारका जडीबुटी निर्यात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगन्ज नाका मुलुककै सबैभन्दा बढी जडीबुटी निर्यात हुने नाकाका रूपमा स्थापित भएको छ । निर्यात बढेसँगै पश्चिम नेपालका जडीबुटी उत्पादक किसान, संकलक र व्यवसायी उत्साहित भएका छन् ।

यसअघि आर्थिक वर्ष ०८१/८२ मा नेपालगन्ज नाकाबाट ८३ करोड ६४ लाख ७० हजार र आर्थिक वर्ष ०८०/८१ मा ७९ करोड ४८ लाख ८२ हजार बराबरको जडीबुटी निर्यात भएको थियो ।