• Menu

नेपालमा ३१ हजार ३८६ विद्युतीय सवारी साधन आयात, ठुलो रेन्जमा बढ्दै आकर्षण

डीआर आचार्य

२०८२ साउन ७, बुधबार ११:४५

नेपालमा ३१ हजार ३८६ विद्युतीय सवारी साधन आयात, ठुलो रेन्जमा बढ्दै आकर्षण

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८१/८२ सम्ममा ३१ हजार ३८६ विद्युतीय सवारी साधन (ईभी) आयात भएका छन् । आव २०७६/७७ मा १०० देखि १५० किलोवाट रेन्जको एउटा सवारी साधन आयात भएकोमा अर्को वर्षदेखि उच्चदरमा आयात हुन थालेको हो ।

भन्सार विभागको तथ्यांकअनुसार आव २०७७/७८ मा २४९ वटा, आव २०७८/७९ मा १ हजार ८०७ वटा, आव २०७९/८० मा ४ हजार ५० वटा, आव २०८०/८१ मा ११ हजार ७०१ वटा र गत आवमा १३ हजार ५७८ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् ।

आव २०७७/७८ मा १०० किलोवाटसम्मका १२० वटा, ५० किलोवाटदेखि १०० किलोवाटसम्मका २५ वटा, १०० किलोवाटदेखि १५० किलोवाटसम्मका ५१ वटा र १५० देखि २०० किलोवाटसम्मका ५३ गरी २४९ वटा विद्युतीय सवारी साधन आयात भएका छन् । भन्सारको तथ्यांकअनुसार सो आवमा ६५ करोड ७८ लाख ४३ हजार मूल्यबराबरका विद्युतीय सवारी साधन भित्रिएका छन् ।

त्यस्तै आव २०७८/७९ मा १०० किलोवाटसम्मका ९९६ वटा, १०० किलोवाटदेखि १५० किलोवाटसम्मका १३ वटा, १५० देखि २०० किलोवाटसम्मका ७९२ वटा, २०० किलोवाटदेखि ३०० किलोवाटसम्मका ४ वटा र ३०० भन्दा माथिका २ वटा गरी १ हजार ८०७ वटा विद्युतीय सवारी साधन आयात भएका छन् । उक्त वर्ष ५ अर्ब ३२ करोड ५ लाख ५० हजार मूल्यका सवारी साधन आयात भएका छन् ।

त्यसको अर्को वर्ष आव २०७९/८० मा दुई गुणाभन्दा बढी विद्युतीय सवारी साधन आयात भएका छन् । अर्को वर्ष ५० किलोवाटसम्मका ३ हजार ७५९ वटा, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका २७२ वटा, १०१ देखि २०० किलोवाटसम्मका १५ वटा, २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका चारवटा गरी ४ हजार ५० वटा विद्युतीय सवारी साधन आयात भएको विभागको तथ्यांकले देखाउँछ । सो आवमा ११ अर्ब ८४ करोड ८ लाख ९५ हजार विद्युतीय सवारी साधन आयात भए ।

आव २०८०/८१ मा भने विगत वर्षहरुको तुलनामा विद्युतीय सवारी साधन आयात गुणात्मक वृद्धि देखियो । आव २०७९/८० मा भन्दा आव २०८०/८१ मा करिब तीन गुणा धेरै आयात भएको थियो । आव २०८०/८१ मा ५० किलोवाटसम्मका ४ हजार ५७१ वटा, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ६ हजार ८८५ वटा, १०१ देखि २०० किलोवाटसम्मका २१७ वटा, २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका २७ वटा र ३०० किलोवाटभन्दा माथिको एउटा गरी ११ हजार ७०१ वटा विद्युतीय सवारी साधन आयात भए ।

विभागको तथ्यांकअनुसार अघिल्लो वर्ष २९ अर्ब ४८ करोड २७ लाख ९४ हजार रुपैयाँबराबरका विद्युतीय सवारी साधन आयात भएको हो ।

गत आवमा भने आयात वृद्धिदर कम छ । गत आवमा ५० किलोवाटसम्मका अनएसेम्बल्ड ९ वटा आयात भएका छन् । त्यस्तै ५० किलोवाटसम्मका ४ हजार ७३२ वटा, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ७ हजार ४३१ वटा, १०१ देखि २०० किलोवाटसम्मका १ हजार ३६२ वटा, २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका ४२ वटा र ३०० किलोवाटभन्दा माथिका दुईवटा विद्युतीय सवारी साधन आयात भए ।

गत आवमा विद्युतीय सवारी साधन आयातमा ३१ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको छ भने सरकारले १९ अर्ब ७० करोड राजस्व आम्दानी गरेको छ । विश्वव्यापी रुपमा विद्युतीय सवारी साधनको अनुसन्धान, उत्पादन र प्रयोग बढ्दै जाँदा नेपालमा भने प्रयोग उच्चदरमा हुन थालेको हो ।

ठुलो रेन्जमा रुचि

विद्युतीय कार प्रयोगकर्ताले ठुलो रेन्जका विद्युतीय सवारी साधनमा रुचि देखाएका छन् । विगतमा १०० किलोवाटसम्मका विद्युतीय सवारी साधन प्रयोग बढी देखिएकोमा गत वर्ष १०१ देखि २०० किलोवाटका ईभी ग्राहको रोजाइमा परेका छन् ।

आव २०८०/८१ मा ५० किलोवाटसम्मका ४ हजार ५७१ वटा सवारी साधन आयात भएकोमा गत आवमा ४ हजार ७३२ वटा आयात भएका छन् । संख्यामा ठुलो भिन्नता छैन । त्यस्तै अघिल्लो वर्ष ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ६ हजार ८८५ वटा आयात भएमा गत वर्ष ७ हजार ४३१ वटा आयात भएका छन् । यसमा पनि संख्यामा ठुलो अन्तर छैन ।

तर, अघिल्लो आवमा १०१ देखि २०० किलोवाटसम्मका २१७ वटा मात्र सवारी साधन आयात भएकोमा गत आवमा १ हजार ३६२ वटा आयात भएका छन् ।