• Menu

गरिमा विकास बैंकद्वारा एकैपटक नौ स्थानमा रक्तदान, ७१३ युनिट रगत संकलन

नेपाल प्रफिट

२०८३ मंसिर ७, सोमबार २०:२९

गरिमा विकास बैंकद्वारा एकैपटक नौ स्थानमा रक्तदान, ७१३ युनिट रगत संकलन

चितवन । गरिमा विकास बैंकले आज सोमबार देशका ९ ठाउँमा गरेको रक्तदान कार्यक्रममा ७१३ जनाले रक्तदान गरेका छन् । बैंकले विगतका वर्षहरुमा जस्तै गरी वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले २०औँ वार्षिकोत्वसमा मुख्य कार्यालय बालुवाटार कार्यालयमा ८१, वेनी कार्यालयमा ५०, पोखरा कार्यालयमा १३२ र वालिङ शाखामा ५४ जनाले रक्तदान गरेका छन् । यसैगरी बुटवल शाखामा १०१, कोहलपुर शाखामा १०६, नारायणगढ शाखामा ८३, जनकपुर शाखामा ४३ र इटहरी शाखामा ६३ जनाले रक्तदान गरेका छन् ।

बैंकले गत वर्षको वार्षिकोत्सबमा विभिन्न ठाउँमा रक्तदान गरी ६०२ युनिट रगत संकलन गरेको थियो । बैंकका कार्यालयहरुमा जनप्रतिनिधि, स्थानीय समाजसेवी, बैंकका सञ्चालक, उच्च तहका कर्मचारीलगायतले रक्तदान कार्यक्रम आरम्भ गरेका थिए । बैंकका कर्मचारी, ग्राहक, शुभेच्छुकलगायतले रक्तदान गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले रगतको अभाव सबै ठाउँमा सधैँ जसो हुने गरेको भन्दै केही हदसम्म अभावलाई पूर्ति गर्ने उद्देश्यले बैंकको हरेक वार्षिकोत्सवमा देशका विभिन्न ठाउँमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको जानकारी दिए । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले समुदायको हितका लागि विभिन्न कार्यक्रम गर्दै आएको उनले बताए ।

बैंकले वार्षिकोत्सवको अवसरमा गत शनिबार काठमाडौँमा गरिमा ‘रोड रेस’को आयोजना गरेको थियो । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ गरिएको सो कार्यक्रम तेस्रो संस्करण हो ।