काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई २४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहकार्य प्याकेज उपलब्ध गराउने घोषणा गरेका छन्।
भारतको राजधानी नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले उक्त घोषणा गरेका हुन्।
मोदीले गत भदौ १० गते भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा नेपालको दीर्घकालीन विकासलाई सहयोग पुर्याउने उद्देश्यले उक्त प्याकेज घोषणा गरिएको बताए।
उनका अनुसार यस सहयोगले बाढी प्रभावित परिवारको जनजीवन पुनः सामान्य बनाउन, नयाँ अवसर सिर्जना गर्न तथा भविष्यमा हुन सक्ने प्राकृतिक विपद्सँग जुध्न नेपालको क्षमता अभिवृद्धि गर्न मद्दत पुग्नेछ।
‘नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई थप मजबुत बनाउन २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहकार्य प्याकेज घोषणा गर्दछु। प्रभावित परिवारको जीवन पुनः सामान्य अवस्थामा फर्कियोस्, नयाँ अवसर प्राप्त होस् र भविष्यमा हुन सक्ने विपद्को सामना गर्ने नेपालको क्षमता अझ सुदृढ बनोस् भन्ने हाम्रो चाहना छ,’ मोदीले भने।
यद्यपि, घोषणा गरिएको कुल रकममध्ये कति अनुदान र कति ऋणका रूपमा उपलब्ध गराइनेछ भन्ने विषयमा भने स्पष्ट पारिएको छैन।