• Menu

एनभिडियामा हुआङको पुनरागमनपछि पनि विवाद र अनुसन्धान कायमै

नेपाल प्रफिट

२०८३ मंसिर ८, मंगलबार १६:०९

एनभिडियामा हुआङको पुनरागमनपछि पनि विवाद र अनुसन्धान कायमै

एजेन्सी । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङको पुनरागमनले सेयर बजारमा सकारात्मक प्रभाव पारे पनि उनीसँग जोडिएका विवाद, अनुसन्धान र कम्पनीको भविष्यबारे प्रश्नहरू कायमै रहेका छन् ।

चीनको सम्भावित जासुसी गतिविधिको निशानामा हुआङ परेको आशङ्कापछि कम्पनीभित्र स्वतन्त्र सञ्चालकको निगरानीमा अनुसन्धान भइरहेको छ । अमेरिकी न्याय मन्त्रालयले एनभिडियाका चिप निर्यात प्रतिबन्ध छल्दै चीन पुर्‍याएको आरोपमा सिङ्गापुरस्थित मेगास्पिडमाथि अनुसन्धान गरिरहेको छ । धितोपत्र तथा विनिमय आयोगले पनि कम्पनीको लेखा प्रणाली र सेयरधनीलाई उपलब्ध गराइएको विवरणबारे छानबिन गरिरहेको छ ।

हुआङले डिसेम्बर १ मा अमेरिकी प्रतिनिधिसभाका तीन समितिसमक्ष बन्द बैठकमा र डिसेम्बर ३ मा सिनेट समितिसमक्ष सार्वजनिक सुनुवाइमा बयान दिनुपर्नेछ । क्यालिफोर्नियाका महान्यायाधिवक्ताले पनि चिप निर्यात र सेयरधनीलाई दिइएको सूचनासम्बन्धी विषयमा अनुसन्धान अघि बढाएका छन् ।

हुआङको पुनरागमनको विरोध गरेको सञ्चालक समितिको भविष्यसमेत अनिश्चित बनेको छ । सन् २०२७ मै सेयरधनीको असन्तुष्टिका कारण सञ्चालक समितिमा फेरबदल हुन सक्ने र नयाँ समितिले हुआङमाथि थप कडा निगरानी राख्न सक्ने विश्लेषण गरिएको छ ।

विवादले हुआङको सार्वजनिक छवि र कम्पनीको प्रतिष्ठामा समेत असर पारेको छ । उहाँको नेतृत्वशैली र कर्मचारीमाथिको व्यवहारबारे आलोचना भइरहेका बेला सञ्चालक समितिको निर्णयले ठूला प्रविधि कम्पनीका प्रमुख कार्यकारी जवाफदेहिताभन्दा माथि रहन सक्ने धारणा बलियो बनाएको विश्लेषकहरूको भनाइ छ ।

हुआङको पुनरागमनले तत्काल कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा आबद्ध कम्पनीका सेयरमा सुधार आउने अपेक्षा गरिए पनि लगानीको दिगोपन, भू-राजनीतिक जोखिम र बजारको स्थायित्वबारे चिन्ता कायमै छ ।

पछिल्ला दुई वर्षमा एआई कम्पनीका सेयरले अमेरिकी पुँजी बजारलाई उकास्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । तर, यस क्षेत्रमा बलियो माग कायम रहे पनि लगानीकर्ताको शङ्का र वित्तीय चुनौतीहरू अझै समाधान हुन नसकेको विश्लेषण गरिएको छ । रासस