• Menu

औषधीय वनस्पति र च्याउको दिगो व्यापारबाट हरित अर्थतन्त्र निर्माण गर्न सकिन्छ : कृषिमन्त्री चौधरी

नेपाल प्रफिट

२०८३ मंसिर ८, मंगलबार १६:३४

औषधीय वनस्पति र च्याउको दिगो व्यापारबाट हरित अर्थतन्त्र निर्माण गर्न सकिन्छ : कृषिमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हिमाली क्षेत्रका जंगली औषधीय तथा सुगन्धित वनस्पति र च्याउ (फङ्गी) को संरक्षण, दिगो उपयोग तथा व्यापार व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताएकी छन् ।

‘जंगली हिमाली औषधीय तथा सुगन्धित वनस्पति र च्याउसम्बन्धी क्षेत्रीय सहकार्य’ विषयक आज यहाँ आयोजित कार्यक्रममा उनले हिमालय पहाडको शृङ्खला मात्र नभई जीवन, पहिचान र समृद्धिको साझा स्रोत भएको उल्लेख गरिन् ।

मन्त्री चौधरीले हिमाली जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक समृद्धि सुनिश्चित गर्न छिमेकी मुलुक तथा अन्तरराष्ट्रिय साझेदारबीच सहकार्य आवश्यक रहेको बताइन् ।

उनले हिमाली वन तथा प्राकृतिक भूदृश्यले नदी प्रणालीलाई जीवन्त राख्न, जैविक विविधताको संरक्षण गर्न र लाखौँ मानिसको जीविकोपार्जनमा योगदान पुर्‍याइरहेको बताइन् ।

जंगली औषधीय तथा सुगन्धित वनस्पति र च्याउ हिमाली समुदायका लागि आयआर्जन, मर्यादा र आशाका स्रोत भएको उल्लेख गर्दै मन्त्री चौधरीले यस्ता प्राकृतिक सम्पदाको दिगो उपयोगबाट हरित तथा न्यायपूर्ण अर्थतन्त्र निर्माण गर्न सकिने बताइन् ।

उनले जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय तथा अव्यवस्थित व्यापारले हिमाली प्राकृतिक सम्पदामाथि जोखिम बढाएको बताइन् ।

उनले भनिन्, ‘हिमालयले हामीलाई जोडेको छ, हाम्रा नीति र साझेदारीहरूले पनि त्यो जोडाइलाई प्रतिबिम्बित गर्नुपर्छ ।’

मन्त्री चौधरीले हिमाली मुलुकले जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय र अव्यवस्थित व्यापारजस्ता चुनौती एक्लाएक्लै समाधान गर्न नसक्ने भएकाले राष्ट्रिय सार्वभौमसत्ता, घरेलु कानुन र राष्ट्रिय प्राथमिकताको सम्मान गर्दै क्षेत्रीय सहकार्य अघि बढाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा भुटान, भारत र चीनका सरकारी प्रतिनिधि, अन्तरराष्ट्रिय संघसंस्था, बेलायतको अन्तरराष्ट्रिय विकास, एन्साब, विकास साझेदार, प्राज्ञिक क्षेत्र, विज्ञ, सामुदायिक अगुवा तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता छ । रासस