एजेन्सी । विश्वभर सन् २०२५ मा ४७ हजारभन्दा बढी महिला तथा बालिकाको हत्या उनीहरूकै घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले देखाएको छ । यसको अर्थ औसतमा प्रत्येक घण्टा करिब पाँच महिला तथा बालिका आफ्नै आफन्त वा नजिकका व्यक्तिबाट मारिने गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय महिला संस्था (यूएन वुमन) र लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यालय (यूएनओडीसी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पछिल्ला केही वर्षयता घनिष्ठ साथी वा परिवारका सदस्यबाट मारिने महिला तथा बालिकाको संख्या ४५ हजारदेखि ५१ हजारको बीचमा रहँदै आएको छ । यसमा उल्लेख्य सुधार देखिएको छैन ।
महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसअघि सार्वजनिक प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वभर जानाजानी हत्या गरिएका ७८ हजार महिला तथा बालिकामध्ये करिब ६० प्रतिशतको हत्या घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको थियो । तीमध्ये ४७ हजार पीडितको सङ्ख्याले दैनिक औसत १२९ महिला तथा बालिकाले ज्यान गुमाउने गरेको देखाउँछ ।
१२२ देश तथा क्षेत्रका तथ्यांक विश्लेषण गरी तयार पारिएको प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वभर हत्या गरिएका व्यक्तिमध्ये महिला १९ प्रतिशत थिए । तीमध्ये ६० प्रतिशतको हत्या निजी तथा पारिवारिक परिवेशमा भएको थियो । यसको तुलनामा हत्या गरिएका पुरुषमध्ये ११ प्रतिशत मात्र त्यस्तो परिस्थितिमा मारिएका थिए ।
संयुक्त राष्ट्रसंघले घरेलु हिंसा नियन्त्रणका प्रयासलाई घनिष्ठ सम्बन्धमा मात्र सीमित नराखी परिवारका अन्य सदस्यबीच हुने हिंसालाई समेत सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
प्रतिवेदनले महिला तथा बालिकाका लागि विश्वको कुनै पनि क्षेत्र पूर्ण रूपमा सुरक्षित नरहेको देखाएको छ । घनिष्ठ साथी वा परिवारका सदस्यबाट मारिने महिला तथा बालिकाको सङ्ख्या अफ्रिकामा सबैभन्दा बढी २२ हजार १०० रहेको छ । त्यसपछि एसियामा १५ हजार १००, अमेरिकामा सात हजार ४००, युरोपमा दुई हजार १०० र ओसिनियामा ३०० जनाको हत्या भएको उल्लेख छ ।
विश्वव्यापी रूपमा हत्याको दर घट्दै गए पनि महिला हत्याको दरमा आएको गिरावट भने सुस्त रहेको प्रतिवेदनले जनाएको छ । विशेषगरी अमेरिका र युरोपमा महिला हत्याको दर क्रमशः घटिरहेको उल्लेख गरिएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार महिला हत्याका घटनाको जरा सामाजिक मान्यता र लैङ्गिक रूढिवादी सोचमा गहिरोसँग गाडिएको छ । न्याय प्रणालीसम्म पहुँचमा रहेका अवरोधले पनि यस्ता अपराध नियन्त्रण गर्न कठिन बनाएको प्रतिवेदनमा उल्लेख छ ।
नारीहत्याले महिला तथा बालिकालाई उनीहरूको लिङ्गका आधारमा गरिने हत्यालाई जनाउँछ । घनिष्ठ साथी वा परिवारका सदस्यबाट हुने हत्याका अतिरिक्त सङ्गठित अपराध, जबर्जस्ती श्रम तथा मानव बेचबिखनसँग सम्बन्धित केही हत्यासमेत यसमा पर्न सक्छन् ।
तर निजी क्षेत्रबाहिर हुने नारीहत्यासम्बन्धी पर्याप्त तथ्यांक उपलब्ध नभएकाले क्षेत्रीय तथा विश्वव्यापी स्तरमा यस्ता घटनाको वास्तविक अवस्था आकलन गर्न कठिन रहेको प्रतिवेदनले जनाएको छ । रासस