काठमाडौं । नेपाल र युरोपेली संघ (इयु) बीच व्यापार तथा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका लागि युरोपेली संघका राजदूत चार्ल्स ह्वाइटलीले सोमबार मन्त्रालयमा शिष्टाचार भेट गरेका हुन् ।
भेटमा नेपाली उत्पादनको निर्यात प्रवर्धन, युरोपेली बजारमा नेपाली वस्तुको पहुँच विस्तार, विदेशी लगानी आकर्षण तथा निर्यातका नयाँ सम्भावना पहिचान गर्ने विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।
नेपालको उत्पादन क्षमता र निर्यात सम्भावनालाई युरोपेली बजारसँग जोड्दै द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा दुवै पक्षले जोड दिएका छन् ।
नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार र युरोपेली लगानी आकर्षित गर्ने सम्भावनाबारे समेत भेटमा छलफल भएको मन्त्रालयले जनाएको छ ।