• Menu

२४ घण्टामा ७७४ चालकमाथि ट्राफिक कारबाही, सिसिटिभीबाट ३५ जना पक्राउ

नेपाल प्रफिट

२०८३ मंसिर ८, मंगलबार १५:१७

२४ घण्टामा ७७४ चालकमाथि ट्राफिक कारबाही, सिसिटिभीबाट ३५ जना पक्राउ
फाइल तस्बिर

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७७४ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियमित निगरानी तथा चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६१ जना, तीव्र गतिमा सवारी चलाउने १२६ जना, सिसिटिभी फुटेजका आधारमा पहिचान भएका ३५ जना र ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने २० जना रहेका छन् ।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १८ जना, सवारीसाधनको अवस्था ठीक नभएका २२ जना र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने दुई जना पनि कारबाहीमा परेका छन् । अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ४९० जनालाई समेत कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

कारबाहीमा परेका चालकलाई नियमअनुसार जरिवानासहितको कारबाही गरिएको उनले बताए ।

सडक अनुशासन कायम राख्न ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा नियमित चेकजाँच तथा निगरानीलाई तीव्रता दिँदै आएको छ । प्रहरीले सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन तथा मादक पदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह गरेको छ ।

सवारी नियमको पालना चालकको जिम्मेवारी मात्र नभई पैदलयात्रुसहित सबै सडक प्रयोगकर्ताको सुरक्षासँग जोडिएको विषय भएकाले जिम्मेवार र सुरक्षित रूपमा सवारी चलाउन प्रहरीले अनुरोध गरेको छ ।