बाँके । भेरी अस्पताल नेपालगन्जमा दुई वर्षदेखि बन्द रहेको न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा पुनः सञ्चालनमा आएको छ ।
अस्पतालले विशेषज्ञ स्वास्थ्य सेवालाई विस्तार गर्दै उक्त सेवा पुनः सुरु गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले जानकारी दिए । सेवाको पुनः सञ्चालनसँगै बाँकेसहित यस क्षेत्रका बिरामीले न्यूरो तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ उपचार आफ्नै क्षेत्रमा सहज रूपमा पाउने भएका छन् ।
अस्पतालको ६ नं. ओपीडीबाट प्रत्येक साताको मंगलबार र बिहीबार न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध हुनेछ । यसबाट सम्बन्धित समस्याबाट प्रभावित बिरामीले समयमै विशेषज्ञ चिकित्सकीय परामर्श, रोग पहिचान र उपचार सेवा प्राप्त गर्न सहज हुने डा. दर्नालले बताए ।
सेवाका लागि न्यूरो सर्जन डा. आलोकचन्द्र ठाकुर र प्लास्टिक सर्जन डा. नोबेल पोखरेल उपलब्ध छन् । दुवै विशेषज्ञ चिकित्सकको सेवा सुरु भएपछि यस क्षेत्रका नागरिकले गुणस्तरीय र विशिष्टीकृत स्वास्थ्य सेवा पाउने अस्पतालले विश्वास लिएको छ ।
भेरी अस्पतालमा यसअघि नै सिटी स्क्यान तथा एमआरआई सेवा सञ्चालनमा छन् । न्यूरो तथा प्लास्टिक सर्जरी सेवा थपिएसँगै आधुनिक निदानात्मक प्रविधि र विशेषज्ञ उपचारलाई एकीकृत गरी बिरामीलाई सहज, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उक्त सेवाको अस्पताल विकास समिति सदस्य डा. डक्टप्रसाद धिताल, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. दर्नाल, सर्जरी विभागका प्रमुख डा. सुरेशकुमार नाग, अस्पताल नर्सिङ प्रमुख पद्मादेवी देवकोटा, मेडिसिन विभागका प्रमुख डा. राजन पाण्डे तथा रेडियोलोजी विभागका प्रमुख डा. विश्वनाथ शर्मालगायतले संयुक्त रूपमा शुभारम्भ गरेका हुन् ।