• Menu

वेब ब्राउजरबाटै चलाउन मिल्ने टिकटकको फ्यामिली पेयरिङ, हानिकारक सामग्री खोजे अभिभावकलाई अलर्ट जाने प्रणाली बन्दै

नेपाल प्रफिट

२०८३ मंसिर ८, मंगलबार १२:२३

वेब ब्राउजरबाटै चलाउन मिल्ने टिकटकको फ्यामिली पेयरिङ, हानिकारक सामग्री खोजे अभिभावकलाई अलर्ट जाने प्रणाली बन्दै

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले किशोरकिशोरीको डिजिटल गतिविधिबारे अभिभावकलाई थप जानकारी र उपयोगी सुझाव उपलब्ध गराउने उद्देश्यले आफ्नो ‘फ्यामिली पेयरिङ’ सुविधालाई नयाँ स्वरूपमा सार्वजनिक गरेको छ ।

नयाँ सुविधामार्फत अभिभावकले आफ्ना किशोरकिशोरीले टिकटकमा बिताउने समय, अनलाइन अन्तरक्रिया, कन्टेन्टसम्बन्धी रुचि र सार्वजनिक रूपमा गरेका पोस्टबारे जानकारी प्राप्त गर्न सक्नेछन् । यसले किशोरकिशोरीको डिजिटल व्यवहार बुझ्न र उनीहरूको अनलाइन अनुभवलाई सुरक्षित तथा सकारात्मक बनाउन अभिभावकलाई सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

टिकटकका अनुसार नयाँ फ्यामिली पेयरिङ ड्यासबोर्डमा चार प्रमुख विषयलाई समेटिएको छ । यसमा स्क्रिन टाइम, अनलाइन अन्तरक्रिया, कन्टेन्टसम्बन्धी रुचि र सार्वजनिक पोस्ट समावेश छन् । यी जानकारीका आधारमा अभिभावकले किशोरकिशोरीको डिजिटल गतिविधिमा आएका परिवर्तन पहिचान गरी आवश्यक सेटिङबारे निर्णय लिन सक्नेछन् ।

नयाँ अपडेटमा स्क्रिन टाइमसम्बन्धी जानकारीलाई विशेष प्राथमिकता दिइएको छ । अब अभिभावकले ड्यासबोर्डमा सबैभन्दा पहिले आफ्ना किशोरकिशोरीले औसतमा कति समय टिकटक प्रयोग गर्छन्, रातिको समयमा कति समय बिताउँछन् र स्क्रिन टाइम व्यवस्थापनका लागि कस्ता सेटिङ प्रयोग गरिरहेका छन् भन्ने हेर्न सक्नेछन् ।

त्यसैगरी, अनलाइन अन्तरक्रियासम्बन्धी सुविधाले किशोरकिशोरीका फलोअर र उनीहरूले फलो गरेका एकाउन्टको संख्यामा आएको परिवर्तन, सम्पर्कमा रहेका एकाउन्ट तथा ब्लक गरेका एकाउन्टबारे जानकारी दिनेछ । आगामी महिनाहरूमा उनीहरूले टिकटकमा कसलाई सन्देश पठाइरहेका छन् भन्ने जानकारीसमेत अभिभावकलाई उपलब्ध गराउने योजना कम्पनीले बनाएको छ ।

किशोरकिशोरीको कन्टेन्टसम्बन्धी रुचि बुझ्न अभिभावकले उनीहरूले फलो गरेका प्रमाणित क्रिएटरका केही भिडियोसमेत हेर्न सक्नेछन् । यसबाट उनीहरू कुन समुदाय र विषयवस्तुमा बढी आकर्षित भइरहेका छन् भन्ने बुझ्न सहज हुने टिकटकको भनाइ छ । कम्पनीले परामर्श गरेका ८० प्रतिशतभन्दा बढी अभिभावकले यस्तो सुविधा आवश्यक रहेको बताएका थिए ।

नयाँ ड्यासबोर्डमा सार्वजनिक पोस्टसम्बन्धी जानकारी पनि समावेश गरिएको छ । यसमार्फत अभिभावकले आफ्ना किशोरकिशोरीले प्रत्येक साता सार्वजनिक रूपमा पोस्ट गरेका सामग्री र ती पोस्टमा प्राप्त भ्युजको सङ्ख्या हेर्न सक्नेछन् ।

टिकटकले नयाँ सुविधालाई उपयोगी जानकारी उपलब्ध गराउने, अभिभावकलाई सुसूचित निर्णय लिन आवश्यक सन्दर्भ प्रदान गर्ने र किशोरकिशोरीको गोपनीयताको सम्मान गर्ने तीन प्रमुख सिद्धान्तका आधारमा विकास गरेको जनाएको छ । कम्पनीका अनुसार परामर्शमा सहभागी ७० प्रतिशतभन्दा बढी अभिभावकले किशोरकिशोरीसँग संवाद सुरु गर्न सहयोग गर्ने उपकरण आवश्यक रहेको बताएका थिए ।

यी जानकारी दैनिक रूपमा अद्यावधिक हुनेछन् । अभिभावकले ड्यासबोर्डबाटै आवश्यक सेटिङ परिवर्तन गर्न सक्नेछन् भने प्राप्त जानकारीलाई किशोरकिशोरीसँग डिजिटल सुरक्षाबारे संवाद सुरु गर्ने आधारका रूपमा समेत प्रयोग गर्न सक्नेछन् । नयाँ फिचर वेब ब्राउजरबाट पनि प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

यसैबीच, किशोरकिशोरीले सम्भावित हानिकारक सामग्री खोज्ने प्रयास गरेको हुन सक्ने अवस्थामा अभिभावकलाई जानकारी दिने नयाँ अलर्ट प्रणाली पनि टिकटकले विकास गरिरहेको छ ।

बोस्टन चिल्ड्रेन्स हस्पिटलको डिजिटल वेलनेस ल्याब तथा सेफ अनलाइन स्ट्यान्डर्ड्सका संस्थापक एवं निर्देशक र जोन्स हप्किन्स सेन्टर फर सुसाइड प्रिभेन्सनका सम्बद्ध प्राध्यापक डा. ड्यान रिडेनबर्गसँगको सहकार्यमा यो सुविधा विकास भइरहेको कम्पनीले जनाएको छ । यसमार्फत अभिभावकलाई सम्भावित जोखिमबारे जानकारी दिनुका साथै यस्तो अवस्थामा कसरी अघि बढ्ने र किशोरकिशोरीसँग सहयोगी संवाद कसरी गर्ने भन्ने विषयमा विज्ञहरूको सुझाव उपलब्ध गराइनेछ । यो सुविधा हाल विकासकै चरणमा छ ।

डिजिटल सुरक्षामा परिवारसँगै शैक्षिक संस्थाको भूमिका पनि महत्त्वपूर्ण हुने भन्दै टिकटकले शिक्षक तथा युवा सुरक्षा क्षेत्रका विज्ञहरूसँगको परामर्शमा ‘एजुकेटर्स गाइड’ समेत सार्वजनिक गरेको छ ।

यस गाइडमा टिकटकको कार्यप्रणाली, कक्षाकोठामा प्रयोग गर्न सकिने स्रोत तथा विद्यार्थी र परिवारसँग अनलाइन सुरक्षा, डिजिटल स्वास्थ्य र मिडिया साक्षरताका विषयमा छलफल गर्न आवश्यक मार्गदर्शन समेटिएको छ । आगामी केही साताभित्र कक्षाकोठामा प्रयोग गर्न मिल्ने थप सामग्रीसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

एजुकेटर्स गाइड तथा युवाको सुरक्षासम्बन्धी थप जानकारी टिकटकको सेफ्टी सेन्टर मार्फत प्राप्त गर्न सकिनेछ ।

टिकटकले किशोरकिशोरी, परिवार र शिक्षकका लागि सुरक्षित डिजिटल अनुभव सुनिश्चित गर्न आवश्यक उपकरण, सुविधा तथा स्रोतको विकासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

टिकटकको बारेमा

टिकटक मोबाइलमा छोटा भिडियो हेर्न तथा सिर्जना गर्न सकिने विश्वव्यापी प्लेटफर्म हो । सिर्जनशीलतालाई प्रोत्साहन गर्नु र मानिसहरूमा खुसी बाँड्नु यसको उद्देश्य रहेको कम्पनीले जनाएको छ । टिकटकका विश्वव्यापी मुख्यालय लस एन्जलस र सिंगापुरमा छन् भने न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सोल र टोकियोलगायत सहरमा कार्यालय रहेका छन् ।