काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा कर्जा विस्तार तथा कर्जा असुलीलाई प्रभावकारी बनाउने उद्देश्यले ‘सिटिजन्स बिल्डिङ स्केल एण्ड भ्यालु : लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुली (आर्थिक वर्ष २०८३/८४)’ कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा आयोजना गरेको कार्यक्रम प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललगायत वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको हो ।
कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा तथा चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना र प्राथमिकताबारे छलफल गरिएको बैंकले जनाएको छ । साथै, केन्द्र र प्रदेशबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा अन्तरक्रिया गरिएको थियो ।
बैंकका अनुसार लुम्बिनी प्रदेशका नौ जिल्लामा सिटिजन्स बैंकका ५१ वटा शाखा सञ्चालनमा रहेका छन् ।
बैंकले ग्राहकलाई आधुनिक तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न नवीन सेवा तथा सुविधासमेत सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
त्यसैगरी, नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन-जी सेभिङ्स अकाउन्ट’ र ‘सिटिजन्स डिजिटल बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । फ्रीलान्सरलाई लक्षित गर्दै ‘फ्रीलान्सर सेभिङ्स अकाउन्ट’ नामक नयाँ बचत खाता पनि सुरु गरिएको छ ।
बैंकले मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा उपलब्ध गराएको छ । साथै, क्रस बैंक टेलर सुविधाअन्तर्गत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
सिटिजन्स बैंकले देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८५ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।