• Menu

मिदास हेल्थ सर्भिसेजद्वारा नेपालमै पहिलोपटक माइक्रोसर्भिसेसमा आधारित एचएमआइएस प्रणाली सार्वजनिक

नेपाल प्रफिट

२०८३ मंसिर ८, मंगलबार १२:०१

मिदास हेल्थ सर्भिसेजद्वारा नेपालमै पहिलोपटक माइक्रोसर्भिसेसमा आधारित एचएमआइएस प्रणाली सार्वजनिक

काठमाडौं । मिदास हेल्थ सर्भिसेजले माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एचएमआइएस) सार्वजनिक गरेको छ । कम्पनीले यसलाई नेपालको डिजिटल स्वास्थ्य सेवा रूपान्तरणमा महत्त्वपूर्ण उपलब्धि भएको जनाएको छ ।

परम्परागत मोनोलिथिक सफ्टवेयर संरचनालाई स्तरोन्नति गर्दै आधुनिक माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित प्रणाली विकास गरिएको कम्पनीले जनाएको छ । मिदासका अनुसार नेपालमा स्वास्थ्य संस्थाहरूलाई यस्तो प्रविधिमा आधारित एचएमआइएस उपलब्ध गराउने आफू पहिलो तथा एकमात्र कम्पनी हो ।

नयाँ प्रणालीले अस्पतालका बिलिङ, फार्मेसी, बिरामी अभिलेख, प्रयोगशाला प्रतिवेदनलगायत विभिन्न विभागका सेवालाई छुट्टाछुट्टै मोड्युलका रूपमा सञ्चालन गर्ने सुविधा प्रदान गर्छ । यसले एउटा विभागको प्रणालीमा समस्या आए पनि अन्य विभागको सेवा प्रभावित हुने सम्भावना कम गर्ने कम्पनीको भनाइ छ ।

२५ वर्षभन्दा बढी अनुभव रहेको मिदासले केन्द्रीयस्तरका अस्पताल, मेडिकल कलेज तथा निजी क्लिनिक गरी २५० भन्दा बढी स्वास्थ्य संस्थालाई सेवा प्रदान गर्दै आएको छ । नयाँ प्रविधिले अस्पतालको सूचना प्रणालीलाई थप लचिलो, विस्तारयोग्य र भरपर्दो बनाउनुका साथै सेवाग्राहीको चाप तथा बदलिँदो आवश्यकताअनुसार प्रणालीलाई सहजै अनुकूलन गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

मोनोलिथिक संरचनामा अस्पतालका सबै सेवा एउटै ठूलो सफ्टवेयर प्रणालीमा आबद्ध हुने भएकाले कुनै एउटा विभागमा प्राविधिक समस्या आएमा अन्य सेवा पनि प्रभावित हुन सक्छन् । तर, माइक्रोसर्भिसेस प्रणालीमा प्रत्येक सेवा स्वतन्त्र मोड्युलका रूपमा सञ्चालन हुने भएकाले एउटा मोड्युलमा अद्यावधिक वा सुधार गर्दा अन्य विभागको काममा असर पर्दैन ।

यस प्रविधिले अस्पतालमा सेवा निरन्तरता कायम राख्न, प्राविधिक अवरोध न्यूनीकरण गर्न, कार्यसम्पादन सुधार गर्न तथा आवश्यकताअनुसार निश्चित विभागको क्षमता विस्तार गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

मिदासले नयाँ प्रविधिमा आधारित एचएमआइएस विभिन्न स्वास्थ्य संस्थामा कार्यान्वयन गरिसकेको छ । विद्यमान प्रणालीलाई स्तरोन्नति गरी नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौं मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, ह्याम्स हस्पिटल, फ्रन्टलाइन हस्पिटल, गण्डकी मेडिकल कलेज, लुम्बिनी सिटी हस्पिटल, हस्पिटल फर चिल्ड्रेन, आई, ईएनटी एण्ड रिह्याबिलिटेसन सर्भिसेज, भीम हस्पिटल र मणिपाल मेडिकल कलेजमा नयाँ प्रणाली लागू गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, नयाँ माइक्रोसर्भिसेसमा आधारित एचएमआइएस चरक मेमोरियल हस्पिटल, फिस्टेल हस्पिटल, तिलोत्तमा हस्पिटल, भरतपुर सामुदायिक हस्पिटल, सरोवर डायग्नोस्टिक सेन्टर, युरोलोजी किड्नी हस्पिटल, रिदम न्युरोसाइकियाट्री हस्पिटल एण्ड रिसर्च सेन्टर, डीआई डेन्टल हस्पिटल तथा शियर मेमोरियल एड्भेन्टिस्ट हस्पिटलमा समेत सञ्चालनमा ल्याइएको छ ।

कम्पनीका अनुसार हाल किस्ट मेडिकल कलेज टिचिङ हस्पिटल र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरलगायतका स्वास्थ्य संस्थामा प्रणाली स्तरोन्नतिको काम भइरहेको छ । साथै, मोनोलिथिक आर्किटेक्चरमा सञ्चालन भइरहेका अन्य ग्राहक संस्थाको प्रणालीलाई पनि नयाँ प्रविधिमा रूपान्तरण गर्ने कार्य अघि बढाइएको छ ।

मिदास हेल्थ सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत अंकित भण्डारीले कम्पनीले सफ्टवेयर उपलब्ध गराउने मात्र नभई स्वास्थ्य संस्थासँग दीर्घकालीन साझेदारी निर्माणमा जोड दिँदै आएको बताए ।

उनले नेपालमा माइक्रोसर्भिसेस आर्किटेक्चर भित्र्याएर स्वास्थ्य सेवा प्रदायक संस्थालाई आवश्यकतासँगै विकसित हुँदै जाने प्रणाली उपलब्ध गराइरहेको उल्लेख गरे । अस्पतालले बिरामीको उपचार सेवा तथा प्रशासनिक कार्यलाई प्रभावकारी बनाउन भरपर्दो, कार्यकुशल र नवीन प्रविधि प्राप्त गरून् भन्नेमा कम्पनी प्रतिबद्ध रहेको उनको भनाइ छ ।

आइएमई ग्रुपको मुख्य लगानी रहेको मिदास हेल्थ सर्भिसेज यसअघि मिदास टेक्नोलोजिजका नामले परिचित थियो । नेपालमा आधारित स्वास्थ्य प्रविधि तथा सफ्टवेयर विकास कम्पनीले २५ वर्षभन्दा लामो समयदेखि अस्पताल व्यवस्थापन सूचना प्रणाली सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीका अनुसार नेपालका ७० प्रतिशतभन्दा बढी स्वास्थ्य संस्थामा यसको एचएमआइएस सेवा प्रयोग भइरहेको छ भने यसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा देशको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या लाभान्वित हुँदै आएको छ ।