काठमाडौं । एनसेल फाउन्डेसनले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको पठनपाठन पुनःसञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग गर्ने भएको छ ।
गत भदौमा आएको बाढीले क्याम्पसका संरचनामा व्यापक क्षति पुर्याएपछि तीन सयभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको थियो । प्रभावित विद्यार्थीलाई पुनः कक्षाकोठामा फर्काउने उद्देश्यले एनसेल फाउन्डेसनले विदुर नगरपालिकासँग सहकार्य गर्ने भएको हो ।
यससम्बन्धी समझदारीपत्रमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले हालै नगरपालिका कार्यालयमा हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार एनसेल फाउन्डेसनले नियमित कक्षा सञ्चालनका लागि क्याम्पसका ३२ वटा कक्षाकोठाको भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनमा सहयोग गर्नेछ । साथै, क्याम्पस सञ्चालनका लागि आवश्यक कम्प्युटर, फर्निचरलगायत सामग्री पनि उपलब्ध गराइनेछ । यसबाट तीन सयभन्दा बढी विद्यार्थीले सहज शैक्षिक वातावरणमा अध्ययनलाई निरन्तरता दिन सक्ने अपेक्षा गरिएको छ ।
नगरप्रमुख श्रेष्ठले क्याम्पसको पठनपाठन सञ्चालनका लागि आवश्यक शैक्षिक पूर्वाधार सहयोग गर्न लागेकोमा एनसेल फाउन्डेसनप्रति आभार व्यक्त गरे । उनले यस सहकार्यलाई सकारात्मक रूपमा लिँदै नगरपालिकाका अन्य क्षेत्रमा पनि शैक्षिक सहयोग विस्तार गर्न सहकार्य गर्ने इच्छा व्यक्त गरे ।
एनसेल फाउन्डेसनकी निर्देशक खड्काले बाढी प्रभावित क्षेत्रमा शैक्षिक सहयोग विस्तार गर्न फाउन्डेसन प्रतिबद्ध रहेको बताइन् । प्रभावित समुदायको आवश्यकता बुझेर स्थानीय निकायसँग प्रत्यक्ष सहकार्य गर्दै सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
‘हामी बाढी प्रभावित क्षेत्रमा शैक्षिक सहयोग विस्तार गर्न प्रतिबद्ध छौँ । यस्ता कार्यका लागि प्रतिबद्धता मात्र पर्याप्त हुँदैन । प्रभावित स्थलमै गएर स्थानीय समुदाय र निकायहरूसँग हातेमालो गरेर काम गर्नुपर्छ,’ उनले भनिन् ।
विदुर नगरपालिकासँगको सहकार्य सुरुवात मात्र भएको उल्लेख गर्दै खड्काले स्थानीय साझेदारसँग मिलेर अन्य विद्यालय तथा क्याम्पसको पहिचान गरी आवश्यक सहयोग गर्ने बताइन् ।
एनसेल फाउन्डेसनले भोटेकोशी बाढीपछि तत्काल राहत तथा उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो । त्यसपछि प्रभावित क्षेत्रका विद्यालय तथा विद्यार्थीलाई लक्षित गरी स्थानीय पालिकासँग प्रत्यक्ष समन्वयमा शैक्षिक सहयोग कार्यक्रम अघि बढाएको हो ।
कार्यक्रमको कार्यान्वयन साझेदार संस्था कर्मयोग फाउन्डेसनमार्फत हुनेछ । एनसेल फाउन्डेसन, कर्मयोग फाउन्डेसन, नगरपालिका र स्थानीय समुदायको सहकार्यमा प्रभावित क्षेत्रका विद्यालय तथा क्याम्पसको आवश्यकता मूल्यांकन गरिनेछ । त्यसका आधारमा पठनपाठन पुनःसञ्चालन र निरन्तरताका लागि थप सहयोग आवश्यक रहेका शैक्षिक संस्थाको पहिचान गरिने फाउन्डेसनले जनाएको छ ।