• Menu

बिग ब्याङको ६३ करोड वर्षमै बनेको क्वासर फेला, सूर्यभन्दा ३६ करोड गुणा ठूलो ब्ल्याक होल

नेपाल प्रफिट

२०८३ मंसिर ८, मंगलबार १६:५१

बिग ब्याङको ६३ करोड वर्षमै बनेको क्वासर फेला, सूर्यभन्दा ३६ करोड गुणा ठूलो ब्ल्याक होल

एजेन्सी । वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै बनेको अहिलेसम्मकै सबैभन्दा टाढाको क्वासर पत्ता लगाएका छन् । यसको केन्द्रमा रहेको विशाल ब्ल्याक होलले प्रारम्भिक ब्रह्माण्ड र आकाशगङ्गाको विकासबारे नयाँ तथ्य उजागर गरेको छ ।

जर्मनीको नेतृत्वमा रहेको अनुसन्धान टोलीले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार उक्त क्वासर ब्रह्माण्डको १३ अर्ब ८० करोड वर्ष लामो इतिहासको सुरुआती चरणमै बनेको थियो । नयाँ खोजले क्वासरको दूरी र निर्माण समयसम्बन्धी यसअघिका अभिलेख तोडेको छ ।

युरोपेली दक्षिणी वेधशालाका अनुसन्धानकर्ता तथा अध्ययनका प्रमुख जुलियन वुल्फका अनुसार यसअघिका दुई अभिलेखले क्वासर निर्माणको समय करिब डेढ करोड वर्षले मात्र पछाडि सारेका थिए । तर नयाँ खोजले उक्त समय करिब चार करोड वर्ष पछाडि पुर्‍याएको छ । उनले यसलाई झन्डै एक दशकयताकै ठूलो वैज्ञानिक उपलब्धि बताएका छन् ।

अनुसन्धान टोलीले युरोपेली अन्तरिक्ष एजेन्सीको युक्लिड टेलिस्कोपले संकलन गरेका लाखौँ अवलोकनको विश्लेषण गर्ने क्रममा उक्त क्वासर फेला पारेको हो । सन् २०२३ मा प्रक्षेपण गरिएको युक्लिड टेलिस्कोपले ब्रह्माण्डको विस्तारमा भूमिका खेल्ने डार्क म्याटर र डार्क इनर्जीबारे जानकारी जुटाउन आकाशगङ्गाहरूको सर्वेक्षण गरिरहेको छ ।

अनुसन्धानकर्ता वुल्फका अनुसार ब्रह्माण्डको प्रारम्भिक अवस्थामा क्वासर भेटिनु आफैँमा दुर्लभ घटना हो । त्यसमाथि यसको ब्ल्याक होल असाधारण रूपमा ठूलो हुनु र त्यसले वरिपरिको पदार्थ तुलनात्मक रूपमा सुस्त गतिमा ग्रहण गरिरहेको अवस्थाले वैज्ञानिकहरूको चासो बढाएको छ ।

वैज्ञानिकहरूले उक्त क्वासरलाई करिब १३ अर्ब १० करोड वर्षअघिको अवस्थामा देखेका हुन् । त्यतिबेला ब्रह्माण्डको उमेर अहिलेको तुलनामा पाँच प्रतिशतभन्दा कम थियो ।

वुल्फले आयरल्यान्डको अरान टापुमा रहेको प्रागैतिहासिक ढुङ्गे किल्ला ‘डन ओङ्हासा’को नामबाट उक्त क्वासरको नामकरण गरेका छन्  । आयरिस मूलकी श्रीमती र छोरीसँग उक्त किल्ला भ्रमण गर्दा प्रभावित भएपछि उनले सोही नाम रोजेका हुन् । उनका अनुसार उक्त किल्लाले क्वासरले जस्तै अझै अन्वेषण गर्न बाँकी विशाल क्षितिजको संकेत गर्छ ।

हबल र जेम्स वेब अन्तरिक्ष दूरबिनलगायत पृथ्वी तथा अन्तरिक्षमा रहेका अन्य वेधशालाबाट पनि उक्त खोजको पुष्टि भएको छ । जेम्स वेब दूरबिनबाट प्राप्त विवरणअनुसार क्वासरलाई ऊर्जा प्रदान गर्ने ब्ल्याक होलको द्रव्यमान सूर्यको भन्दा करिब ३६ करोड गुणा बढी छ । ब्रह्माण्डको यति प्रारम्भिक चरणमै ब्ल्याक होलको आकार यति ठूलो हुनुलाई वैज्ञानिकहरूले आश्चर्यजनक मानेका छन् ।

अध्ययनको अन्तिम निष्कर्ष ‘एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स’ जर्नलमा प्रकाशित भएको छ । वुल्फका अनुसार बिग ब्याङपछि करिब ६३ करोड वर्षमै ब्ल्याक होल सूर्यको द्रव्यमानको ३६ करोड गुणासम्म कसरी बढ्यो भन्ने प्रश्नले प्रारम्भिक ब्रह्माण्डबारे थप अनुसन्धानको आवश्यकता देखाएको छ ।

उनले नयाँ खोजले प्रारम्भिक ब्रह्माण्डको अध्ययनका लागि नयाँ समयसीमा निर्धारण गरेको बताएका छन् । यद्यपि, यो अभिलेख केही महिनामै अर्को खोजले तोड्न सक्ने वा वर्षौंसम्म कायम रहन सक्ने सम्भावना पनि उनले व्यक्त गरेका छन् ।