• Menu

कक्षा ६ देखि १२ का विद्यार्थीका लागि काठमाडौं महानगरको भिडियो प्रतियोगिता, ५० हजारसम्म पुरस्कार

नेपाल प्रफिट

२०८३ कात्तिक २९, आइतबार १५:३७

कक्षा ६ देखि १२ का विद्यार्थीका लागि काठमाडौं महानगरको भिडियो प्रतियोगिता, ५० हजारसम्म पुरस्कार

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ।

महानगरपालिकाले सूचना जारी गर्दै ‘काठमाडौं जलवायु कार्य सप्ताह-२०८३’ अन्तर्गत उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।

जलवायु परिवर्तनका विश्वव्यापी असर न्यूनीकरण गर्न समुदायस्तरमा गर्न सकिने प्रयासको प्रवर्धन तथा जलवायुजन्य क्षति कम गर्न व्यक्ति र समुदायको जिम्मेवारीबोध बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको महानगरले जनाएको छ।

महानगरपालिकाले विभिन्न साझेदार संस्थासँगको सहकार्यमा मंसिर ७ देखि १३ गतेसम्म विभिन्न कार्यक्रमसहित ‘काठमाडौं जलवायु कार्य सप्ताह’ सञ्चालन गर्न लागेको छ।

प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउनेछन्। इच्छुक विद्यार्थीलाई प्रतियोगितामा सहभागी हुन महानगरले आह्वान गरेको छ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी, सात जना सहभागीलाई सान्त्वना पुरस्कारस्वरूप जनही १० हजार रुपैयाँ प्रदान गरिने महानगरले जनाएको छ।

जलवायु परिवर्तनका असर र त्यसको न्यूनीकरणमा बालबालिकाको भूमिका उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीमा वातावरण संरक्षणप्रति सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस