• Menu

नेपालगन्ज भन्सारबाट ३ महिनामा ५ अर्ब २४ करोड राजस्व संकलन, लक्ष्यको २०.४ प्रतिशत मात्रै उठ्यो

नेपाल प्रफिट

२०८३ कात्तिक १५, आइतबार १२:१२

नेपालगन्ज भन्सारबाट ३ महिनामा ५ अर्ब २४ करोड राजस्व संकलन, लक्ष्यको २०.४ प्रतिशत मात्रै उठ्यो

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५ अर्ब २४ करोड बढी राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्ष २०८३/८४ को साउन, भदौ र असोज गरी ३ महिनामा ५ अर्ब २४ करोड ८९ लाख ८५ हजार राजस्व संकलन भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पबित्रकुमार खड्काले बताए ।

उनका अनुसार यो राजस्व संकलन कुल लक्ष्यको २०.४ प्रतिशतमात्रै हो । साउनका लागि एक अर्ब ८३ करोड ४३ लाख ६८ हजार लक्ष्य रहेकामा एक अर्ब ६१ करोड १७ लाख ७३ हजार, भदौमा दुई अर्ब ९ करोड ६४ लाख २० हजार लक्ष्य रहेकामा एक अर्ब ७४ करोड १२ लाख ५१ हजार र असोज महिनामा दुई अर्ब ३५ करोड ८४ लाख ७४ हजार लक्ष्य रहेकामा एक अर्ब ८९ करोड चारस लाख सात हजार संकलन भएको छ ।

साउन महिनामा मासिक लक्ष्यको ८७.८७ प्रतिशत, भदौमा ८३.०६ र असोजमा लक्ष्यको ८०.३१ प्रतिशत राजस्व संकलन भएको छ । गत आव २०८२/८३ मा आफ्नो लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेको नेपालगन्ज भन्सार कार्यालयलाई चालु आव २०८३/८४ मा थप डेढ अर्ब बढी बढाएर लक्ष्य निर्धारण गरिएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले गत आव २०८२/८३ मा २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार राजस्व संकलनका लागि लक्ष्य रहेकामा करिब ८१.८७ प्रतिशत अर्थात् २० अर्ब ११ करोड ५५ लाख एक हजारमात्रै असुली गर्न सकेको थियो ।

गत आवमा २० अर्ब ११ करोड राजस्व असुली गरेको नेपालगन्ज भन्सारलाई चालु आव २०८३/८४ मा २६ अर्ब २० करोड ५२ लाख ६५ हजार लक्ष्य निर्धारण गरिएको छ । जुन गत आवको वास्तविक असुलीभन्दा ६ अर्बभन्दा बढी र गत आवको लक्ष्यभन्दा एक अर्ब ६५ करोड बढी हो ।

नेपालगन्ज भन्सार कार्यालयबाट इन्धन, ट्याक्टर तथा ट्रिलर, पोलिथिन दाना, चामल, खाद्यान्न, फलामलगायतका वस्तुको आयात बढी हुने गरेको छ भने जडीबुटीलगायतका वस्तु तथा सामान निकासी हुने गरेको छ । राजस्व संकलनको वार्षिक लक्ष्य पूरा गर्नका लागि आवश्यक कार्ययोजना बनाइएको सूचना अधिकारी खड्काले बताए । रासस