इलाम । इलामको सूर्योदय नगरपालिका-८ कजेनीका दिनेश महत व्यावसायिक गाईपालनबाट आत्मनिर्भर बनेका छन्। गाईपालन व्यवसायमार्फत राम्रो आम्दानी गर्दै आएका उनले दुई जना स्थानीय युवालाई रोजगारीसमेत दिएका छन्।
चार वर्षअघि ३० लाख रुपैयाँ लगानीमा ‘बिएण्डएम कृषि तथा पशुपालन फार्म’ सञ्चालन गरेका महतको फार्ममा अहिले १० माउ गाई छन्। तीमध्ये पाँचवटा दुहुना छन् भने पाँचवटा चाँडै बियाउने अवस्थामा छन्। फार्ममा १४ वटा बाच्छीसमेत हुर्किरहेका छन्।
महतले दैनिक ५० देखि ६० लिटर दूध उत्पादन गर्दै आएका छन्। उत्पादित दूध नजिकैको सहकारीमा प्रतिलिटर ५५ देखि ६० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। दूध बिक्रीबाट वार्षिक करिब ११ लाख रुपैयाँ आम्दानी हुने उनले बताए। यद्यपि, लगानीअनुसार दूधको मूल्य कम पाएको उनको गुनासो छ।
गाईपालनबाट आफू स्वरोजगार बन्नुका साथै महतले फार्ममा दुई जना स्थानीय युवालाई रोजगारी दिएका छन्। उनीहरूलाई खानबस्नको सुविधासहित मासिक १८ हजार रुपैयाँ तलब उपलब्ध गराउँदै आएका छन्।
गाईलाई आवश्यक घाँसको व्यवस्थापनका लागि उनले ३० रोपनी जमिनमा सुपर नेपियर, अम्रिसो तथा अन्य प्रजातिका घाँस लगाएका छन्।
गाईपालनसँगै महतले कृषि खेतीलाई पनि विस्तार गरेका छन्। उनले १०० रोपनी जग्गा भाडामा लिएर ४० रोपनीमा व्यावसायिक स्कुसखेती गरेका छन् भने बाँकी क्षेत्रमा चियाखेती गर्दै आएका छन्। गाईबाट उत्पादन हुने मल आफ्नै कृषि खेतीमा प्रयोग गर्ने गरेको उनले बताए।
गाउँमै बसेर पनि विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिने सन्देश दिन आफूले व्यावसायिक कृषि तथा पशुपालन रोजेको महत बताउँछन्। युवालाई वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै उद्यम र स्वरोजगारतर्फ प्रेरित गर्नुपर्नेमा उनको जोड छ।
महतको कृषि तथा पशुपालन व्यवसायले आफ्नै परिवारको आर्थिक अवस्था सुधार गर्नुका साथै स्थानीय युवालाई रोजगारी दिने माध्यमसमेत बनेको छ। रासस