बाँके । वैदेशिक रोजगारीका लागि साउदी अरब जाने तयारीमा रहेका डम्बर बुढाक्षेत्री स्वास्थ्य परीक्षणमा असफल भएपछि स्वदेशमै बाख्रापालनमा लागे । विदेश जाने सपना पूरा नभए पनि उनले सुरु गरेको बाख्रापालन व्यवसाय अहिले आत्मनिर्भरताको आधार बनेको छ।
बाँकेको राप्तीसोनारी गाउँपालिका-६ निवासी बुढाक्षेत्रीसँग अहिले ६० वटाभन्दा बढी स्थानीय खरी जातका बाख्रा छन्। बाख्रापालनबाट हालसम्म तीन लाख रुपैयाँ आम्दानी गरेका उनले पुरानो ऋण चुक्ता गर्नुका साथै दुई छोराको पढाइ खर्च र परिवारको आवश्यकता पूरा गर्दै आएका छन् ।
उनले वर्षमा आठदेखि १० वटासम्म खसी बिक्री गर्दै आएका छन् । यस वर्ष पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छन् । माउ बाख्रा बिक्री नगरी संख्या बढाउने योजनामा रहेका उनलाई बजारको समस्या भने छैन। सहकारीले खसी खरिद गर्ने र आवश्यक पर्दा अग्रिम रकमसमेत उपलब्ध गराउने भएकाले व्यवसाय सञ्चालन गर्न सहज भएको उनी बताउँछन् ।
वैदेशिक रोजगारीमा जाने योजना असफल भएपछि बाख्रापालन सुरु गर्नुभएका बुढाक्षेत्री पारिवारिक समस्याका कारण बीचमा तीन वर्ष भारतमा समेत बस्नुपरेको थियो। बुबाआमाको उपचार र निधनपछि लागेको ऋण तिर्न भारत गएका उनी स्वदेश फर्किएपछि पुनः पशुपालनमा सक्रिय भए ।
सुरुमा आठवटा भैँसीसमेत पालेका उनले पछि भैँसी बिक्री गरेर बाख्रापालनलाई प्राथमिकता दिए । पशुपालनबाटै पुरानो ऋण चुक्ता गर्न सफल भएको उनले बताए ।
‘म यसैमा सन्तुष्ट छु। विदेश गएको भए राम्रो हुन्थ्यो भन्ने लागेको छैन,’ उनले भने ।
आफ्नो अनुभव सुनाउँदै बुढाक्षेत्रीले अरूको देखासिकी गरेर एकैपटक ठूलो लगानी गर्नुभन्दा आफ्नो क्षमता र अवस्थाअनुसार सानो लगानीबाट व्यवसाय सुरु गर्नुपर्ने सुझाव दिए ।
बाख्रापालनलाई नै भविष्यको आधार बनाएका उनले स्थानीय खरी जातका बाख्राको संख्या बढाउँदै व्यवसाय विस्तार गर्ने योजना बनाएका छन् । रासस