• Menu

तेक्वान्दोमा वैभवीलाई थाइल्यान्डमा दुई पदक

नेपाल प्रफिट

२०८३ कात्तिक २९, आइतबार १६:२४

तेक्वान्दोमा वैभवीलाई थाइल्यान्डमा दुई पदक

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दुई पदक जितेकी छन्।

नेपालबाट एकमात्र सहभागी खेलाडी वैभवीले प्रतियोगितामा क्योरुगी विधातर्फ रजत र पुम्से विधातर्फ कास्य पदक जितेकी हुन्।

बैंककस्थित फेसन आइल्याण्डको स्पोर्ट्स हलमा आयोजित प्रतियोगितामा ११ वर्षीया वैभवी क्योरुगी विधाको फाइनल प्रतिस्पर्धामा थाइल्यान्डकी खेलाडीसँग पराजित हुँदै रजत पदकमा सीमित भइन्।

त्यस्तै, पुम्से विधामा ३५ खेलाडीबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै उनले कास्य पदक प्राप्त गरिन्।

वैभवीले यसअघि पनि थाइल्यान्डमै सम्पन्न १४औँ रोयल प्रिन्सेस कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दुई रजत पदक जितेकी थिइन्।

शनिबार र आइतबार सञ्चालन भएको बैंकक खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, भारत, इन्डोनेसिया, अमेरिका, हङकङ, म्यान्मा, बेल्जियम, सिङ्गापुर र भियतनामका करिब तीन हजार खेलाडी सहभागी थिए।

११ वर्षको उमेरमै अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार पदक जित्न सफल वैभवीको प्रदर्शनले नेपाली तेक्वान्दोमा नयाँ सम्भावना देखाएको छ।