• Menu

कर्णाली याक्सद्वारा चितवन राइनोज २४ रनले पराजित

नेपाल प्रफिट

२०८३ कात्तिक २९, आइतबार १६:२२

कर्णाली याक्सद्वारा चितवन राइनोज २४ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करण अन्तर्गत कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो।

टसपछि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चितवनले सुरुवातदेखि नै नियमित अन्तरालमा विकेट गुमाउँदा लक्ष्य भेट्टाउन सकेन।

चितवनका लागि उसामा मिरले सर्वाधिक २८ रन बनाए। उनले २३ बलमा दुई चौका र एक छक्का प्रहार गरे। ओपनर कामिल मिशाराले १७ बलमा २५ रन जोडे। कुशल मल्लले १५ बलमा १८ तथा देव खनालले १३ बलमा १४ रन बनाए।

अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। कप्तान सिकन्दर रजा दुई रनमा आउट हुँदा विवेक यादवले छ, डान माउस्लीले आठ र सलाहुद्दिन खानले सात रन बनाए। अशोक धामीले सात बलमा ११ रन जोडे।

कर्णालीका बलर हुसैन तलात सर्वाधिक सफल रहे। उनले ३.१ ओभरमा १७ रन खर्चेर तीन विकेट लिए। पवन सर्राफ र मार्क वाटले समान दुई तथा सोमपाल कामीले एक विकेट हात पारे।

यसअघि कर्णालीको ब्याटिङमा पनि हुसैन तलातले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ३३ बलमा दुई चौका र तीन छक्काको मद्दतले अविजित ५१ रन बनाए। अरिफुल इस्लामले १५ बलमा ३५ तथा गुल्सन झाले ६ बलमा १८ रनको योगदान दिए।

ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेका तलात खेलका मुख्य नायक बने। उनको अलराउन्ड प्रदर्शन कर्णालीको जितमा निर्णायक रह्यो।

यस जितसँगै कर्णालीले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको कर्णालीले प्रतिष्ठाको खेलमा चितवनलाई पराजित गरेको हो। चितवन भने शीर्ष दुईमा स्थान बनाउन असफल भएपछि एलिमिनेटर खेल्ने भएको छ।