• Menu

कोप-३१ मा जलवायु वित्तको मुद्दा उठाएर अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता

नेपाल प्रफिट

२०८३ कात्तिक २९, आइतबार १३:३४

कोप-३१ मा जलवायु वित्तको मुद्दा उठाएर अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता

काठमाडौं । टर्कीमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन कोप-३१ मा जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रमसहित करिब एक दर्जन कार्यक्रममा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन्।

सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए। उनले सात वर्षअघि स्थापना भएको ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई १०५औँ सदस्यका रूपमा सहभागी गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ (Fiscal Space for Resilience) सम्बन्धी नीतिगत अवधारणासमेत छलफलका लागि प्रस्तुत गरेका थिए।

विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान सञ्चालन गर्दै आएकी बार्बाडोसकी प्रधानमन्त्री मिया मोट्ली र जी-२० समूहको अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग पनि अर्थमन्त्री वाग्लेले भेटवार्ता गरेका थिए। भेटमा विशेष अन्तर्राष्ट्रिय प्याकेजका विषयमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको जनाइएको छ।

नेपालले कोप-३१ मा उठाएका जलवायु वित्त तथा अन्य विषयमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले अर्थमन्त्री वाग्लेले पाँच जना प्रभावशाली जलवायु दूतसँग पनि छलफल गरेका थिए। छलफलमा बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्विडेनका माटियास फ्रुमेरी, जमैकाका डेल वेबर र संयुक्त राष्ट्रसंघका महासचिवका दूत सेल्विन हार्ट सहभागी थिए।

त्यसैगरी, हरित जलवायु कोषको उच्च नेतृत्वसँग भावी कार्यक्रमका विषयमा छलफल गरेका वाग्लेले जेनेभास्थित विश्व मौसम विज्ञान सङ्गठनको जलवायु मापन कोषसम्बन्धी कार्यक्रममा पनि विशेष सम्बोधन गरेका थिए। उक्त कार्यक्रमबाट नेपालले समेत लाभ लिँदै आएको जनाइएको छ।

जलवायु तथा अर्थशास्त्रका क्षेत्रमा ख्यातिप्राप्त प्राध्यापक योहान रक्स्त्रम र प्राध्यापक निकोलस स्टर्नसँग पनि अर्थमन्त्रीले भेटघाट गरेका थिए।

सम्मेलनका क्रममा उनले ‘द न्युयोर्क टाइम्स’लाई अन्तर्वार्तासमेत दिएका थिए। सन् २०२६ का लागि ‘टाइम’ पत्रिकाले छनोट गरेका जलवायु मुद्दासँग सम्बन्धित विश्वका १०० प्रभावशाली व्यक्तित्वको सम्मानमा आयोजित कार्यक्रममा पनि वाग्ले सहभागी भएका थिए।

जलवायु वित्त, विपद्पछिको ऋण व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई प्राथमिकतामा राख्दै सम्मेलनमा सहभागी भएका अर्थमन्त्री वाग्लेको भ्रमणले नेपालको जलवायु वित्तसम्बन्धी मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ।