काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.६५ अंकले घटेर २ हजार ६५७ अंकमा झरेको छ।
कारोबार सुरु भएदेखि नै दबाबमा रहेको बजार दिनभर रातो अंकमा रह्यो। यसअघिको कारोबार दिन नेप्से परिसूचक ५ अंकले घटेको थियो।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ। अघिल्लो कारोबार दिन ८ अर्ब ८९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार ७ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ।
आज कारोबारमा आएका कुल कम्पनीमध्ये २१ वटाको सेयर मूल्य बढेको छ भने २५२ वटाको घटेको छ। त्यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यस दिन सबै समूहगत सूचक घटेका छन्। विकास बैंक समूह सबैभन्दा धेरै १.८८ प्रतिशतले घटेको छ। त्यस्तै, बैंकिङ समूह १.०७, वित्त १.५३, होटल तथा पर्यटन ०.६३, जलविद्युत १.०८, लगानी १.४२, जीवन बिमा १.४७, उत्पादन तथा प्रशोधन ०.९०, लघुवित्त १.१६, निर्जीवन बिमा १.७२, अन्य १.६१ र व्यापार समूह ०.८६ प्रतिशतले घटेका छन्।
बजार घटे पनि हालै सूचीकृत बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। मकर जितुमाया सुरी हाइड्रोपावरको ८.७७, मन्दाकिनी हाइड्रोपावरको ५.४७, एनआईसी एसिया बैंकको ३.०२ र बुटवल पावर कम्पनीको सेयर मूल्य २.४८ प्रतिशतले बढेको छ।
यसैगरी, झापा इनर्जीको सेयर मूल्य ४.११ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ४.०८ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३.८३ प्रतिशत र माउन्ट एभरेस्ट पावरको ३.५६ प्रतिशतले घटेको छ।
सोमबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूमा घलेम्दी हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, लुम्बिनी विकास बैंक, मकर जितुमाया सुरी हाइड्रोपावर, ग्रिन भेन्चर्स, एनआईसी एसिया बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् ।