• Menu

नेप्सेमा सामान्य सुधार, कारोबार रकम बढेर ५ अर्ब ८० करोड पुग्यो

नेपाल प्रफिट

२०८३ कात्तिक १०, मंगलबार १६:०२

नेप्सेमा सामान्य सुधार, कारोबार रकम बढेर ५ अर्ब ८० करोड पुग्यो

काठमाडौं । सेयर बजारमा मंगलबार सामान्य वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९४ अंकले बढेर २ हजार ६३० अंकमा पुगेको छ। बजारमा उतारचढाव देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

मंगलबार १३६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १३५ कम्पनीको मूल्य घटेको छ। यस्तै, ८ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

सोमबार ४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ५ अर्ब ८० करोड रुपैयाँको सेयर किनबेच भएको छ। क्षेत्रगत रूपमा हेर्दा जलविद्युत् कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ।

जलविद्युत् समूहको सूचक १.६५ प्रतिशत अर्थात् ५९ अंकले बढ्दै सबै समूहमा अग्रता कायम गरेको छ। अघिल्लो कारोबार दिन उत्पादन तथा प्रशोधन समूहमा बढी आकर्षण देखिएको थियो।

मंगलबार लघुवित्त समूहको सूचक ०.०१ प्रतिशत र अन्य समूहको ०.०६ प्रतिशतले बढेको छ। बाँकी अधिकांश समूहमा गिरावट आएको छ।

बैंकिङ समूह ०.३७ प्रतिशत, विकास बैंक ०.४५ प्रतिशत, वित्त ०.१८ प्रतिशत, होटल तथा पर्यटन ०.५१ प्रतिशत र लगानी समूह ०.२३ प्रतिशतले घटेका छन्। त्यसैगरी, जीवन बिमा समूह ०.५९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५० प्रतिशत, निर्जीवन बिमा ०.०६ प्रतिशत र व्यापार समूह ०.२६ प्रतिशतले ओरालो लागेका छन्।

मंगलबार मूल्य बढ्ने कम्पनीमध्ये हालै सूचीकृत बेनी हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ।

त्यस्तै, माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य १२.०९ प्रतिशत, दोर्दीखोलाको ६.७९ प्रतिशत, सुपरमाई हाइड्रोपावरको ५.९५ प्रतिशत, सिर्जनशील लघुवित्तको ५.६८ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ४.८९ प्रतिशत र शिखर पावरको ४.६३ प्रतिशतले वृद्धि भएको छ।

यसको विपरीत, युनिलिभर नेपालको सेयर मूल्य सबैभन्दा धेरै ४.९१ प्रतिशतले घटेको छ। मूल्यमा उच्च गिरावट आउने सूचीमा डिबेन्चरहरू पनि अगाडि देखिएका छन्।

मंगलबार बढी कारोबार हुने कम्पनीको सूचीमा घलेम्दी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, सानिमा मिडिल तमोर, लिबर्टी इनर्जी, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी र अपी पावर रहेका छन्।

समग्रमा नेप्से परिसूचकमा सामान्य वृद्धि भए पनि बढ्ने र घट्ने कम्पनीको संख्या लगभग बराबर देखिएको छ। कारोबार रकममा भएको वृद्धिसँगै जलविद्युत् समूहको बलियो प्रदर्शन मंगलबारको बजारको प्रमुख विशेषता बनेको छ।