काठमाडौं । मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एउटै मञ्चमा प्रस्तुत गर्ने ‘पल्सर आरपीएम’ कार्यक्रम कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा हुने कार्यक्रममा मोटरसाइकल स्टन्टदेखि बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीत र अन्य मनोरञ्जनात्मक गतिविधि समावेश गरिनेछ। कार्यक्रममा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ।
काठमाडौं र बुटवलमा सफलतापूर्वक सम्पन्न भएका संस्करणपछि पोखरा आइपुग्न लागेको पल्सर आरपीएमले युवा, खेलप्रेमी तथा सिर्जनशील समुदायलाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ। बुटवलमा करिब २ हजार ५०० जनाको सहभागिता रहेको कार्यक्रममा पोखरामा पनि उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा पल्सर एन१६० मोटरसाइकलमार्फत रोमाञ्चक स्टन्ट प्रदर्शन गरिनेछ। यसका साथै बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, गेम अफ स्केट र क्यालिस्थेनिक्सका गतिविधिले सहभागीलाई मनोरञ्जन प्रदान गर्नेछन्। स्थानीय डिजे तथा ग्राफिटी कलाकारले समेत आफ्नो कला प्रस्तुत गर्नेछन्।
कार्यक्रममा पल्सर एन१६० र एनएस२०० मोटरसाइकलको प्रदर्शनी तथा परीक्षण राइडको व्यवस्था गर्ने योजना रहेको छ। सहभागीले पपअप स्टोर, खाना, कफी र अन्य मनोरञ्जनात्मक गतिविधिको अनुभव लिन सक्नेछन्।
पल्सर आरपीएम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय प्रतिभालाई आफ्नो सीप, कला र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने मञ्चका रूपमा समेत अघि बढाइएको छ। विभिन्न खेल, कला र संगीतमा सक्रिय युवालाई एकै ठाउँमा जोड्दै पोखराको युवा संस्कृति तथा स्थानीय प्रतिभालाई थप पहिचान दिलाउनु कार्यक्रमको उद्देश्य रहेको छ।
कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुनेछ भने मुख्य आरपीएम गतिविधि दिउँसो २:३० बजेदेखि सञ्चालन हुनेछ। निःशुल्क प्रवेशको व्यवस्था रहेको कार्यक्रममा पोखरा तथा आसपासका क्षेत्रका युवालाई सहभागी हुन आयोजकले आमन्त्रण गरेको छ।