• Menu

बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिंक्स सेवन नगर्न खाद्य विभागको आग्रह

नेपाल प्रफिट

२०८३ कात्तिक ११, बुधबार १७:२९

बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिंक्स सेवन नगर्न खाद्य विभागको आग्रह

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ।

विभागले इनर्जी ड्रिंक्सको सुरक्षित उपभोगसम्बन्धी जानकारी सार्वजनिक गर्दै सेवन गर्न मिल्ने व्यक्तिलाई समेत दैनिक दुई क्यानभन्दा बढी नपिउन सुझाव दिएको हो।

विभागका अनुसार नेपालमा हाल १७ वटा उद्योगले सम्बन्धित निकायबाट अनुमति लिएर इनर्जी ड्रिंक्स उत्पादन तथा बिक्रीवितरण गर्दै आएका छन्। उत्पादनको लेबल र प्रयोगशाला विश्लेषण प्रतिवेदनअनुसार नेपाली बजारमा उपलब्ध इनर्जी ड्रिंक्समा प्रतिक्यान १०० मिलिग्राम क्याफिन प्रयोग गरिएको पाइएको छ।

युरोपेली खाद्य सुरक्षा प्राधिकरण (ईएफएसए) र अमेरिकी खाद्य तथा औषधि प्रशासन (यूएसएफडीए) लगायतका संस्थाले स्वस्थ वयस्कका लागि सबै खाद्य तथा पेय पदार्थबाट प्राप्त हुने कुल क्याफिनको मात्रा दैनिक ४०० मिलिग्रामभन्दा बढी नहुने गरी सेवन गर्न सकिने वैज्ञानिक आधार प्रस्तुत गरेका छन्। विभागले नेपालमा उत्पादित इनर्जी ड्रिंक्समा रहेको क्याफिनको मात्रा उक्त दैनिक सीमाको २५ प्रतिशतभन्दा कम रहेको जनाएको छ।

यद्यपि, क्याफिनको मात्रा निर्धारित सीमाभित्र हुनु मात्रै सबै व्यक्तिका लागि सुरक्षित हुने आधार नभएकाले संवेदनशील समूहले विशेष सावधानी अपनाउनुपर्ने विभागको आग्रह छ।

विभागले इनर्जी ड्रिंक्सलाई पानी, जुस, दूध र मोहीजस्ता पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न तथा अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न पनि अनुरोध गरेको छ।

त्यसैगरी, उत्पादक तथा विक्रेतालाई प्रचलित कानुनअनुसार आवश्यक अनुमति लिएर मात्रै विज्ञापन तथा प्रचारप्रसार गर्न आग्रह गरिएको छ। उत्पादनको लेबलमा उल्लेख गरिएका चेतावनी सन्देश र सुरक्षित उपभोगसम्बन्धी जानकारी स्पष्ट रूपमा उपभोक्तासम्म पुर्‍याउन पनि विभागले निर्देशन दिएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने कार्यलाई प्राथमिकतामा राख्दै विभागले वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा खाद्य पदार्थको गुणस्तरसम्बन्धी जानकारी सम्प्रेषण गर्न सरोकारवालालाई आग्रह गरेको छ।