• Menu

विद्युतीय कार आयातमा व्यापक वृद्धि, तीन महिनामै ६ हजार ६३६ ईभी आयात

नेपाल प्रफिट

२०८३ कात्तिक ११, बुधबार १६:१५

विद्युतीय कार आयातमा व्यापक वृद्धि, तीन महिनामै ६ हजार ६३६ ईभी आयात

काठमाडौं । विद्युतीय कार आयात व्यापक बढेको छ । गत आर्थिक वर्षको साउनदेखि असोजसम्मको ३ महिनामा २ हजार ६२० वटा विद्युतीय कार आयात भएकोमा चालु आव २०८३/८४ को सोही अवधिमा ६ हजार ६३६ कार भित्रिएको हो ।

गत वर्ष पहिलो त्रैमासमा ६ अर्ब २५ करोड रुपैयाँ बाहिरिएको थियो भने सरकारले ३ अर्ब ९१ करोड भन्सार राजस्व उठाएको थियो । चालु आवको पहिलो त्रैमासमा गाडी आयातमा १५ अर्ब ३ करोड बाहिरिएको छ भने सरकारले ९ अर्ब ६ करोड राजस्व संकलन गरेको छ ।

समीक्षा अवधिमा चीनबाट ४ हजार ८२१, भारतबाट १ हजार ४२०, थाइल्यान्ड ३९३ र अमेरिकाबाट २ वटा कार आयात भएको छ । गत वर्षको पहिलो त्रैमासमा चीनबाट १ हजार ९३७, भारतबाट ४६३, थाइल्यान्डबाट २०१ र अमेरिकाबाट ११ वटा विद्युतीय कार आयात भएको थियो । गत वर्ष बेलायत, जर्मनी र दक्षिण कोरियाबाट पनि विद्युतीय कार भित्रिएका थिए ।

यसैबीच, भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार वैदेशिक व्यापार ४० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ५ खर्ब ४० अर्ब रुपैयाँको वैदेशिक व्यापार भएकोमा चालु आव २०८३/८४ को सोही अवधिमा ७ खर्ब ६१ अर्बको व्यापार भएको हो । यो वृद्धि ४०.७१ प्रतिशत हो ।

समीक्षा अवधिमा आयात ३८.१८ प्रतिशतले बढेर ४ खर्ब ६८ अर्बबाट ६ खर्ब ४६ अर्ब नाघेको छ भने निर्यात ७२ अर्ब ७८ करोडबाट ५७.०३ प्रतिशत बढेर १ खर्ब १४ अर्ब पुगेको छ । यससँगै वैदेशिक व्यापारमा निर्यात हिस्सा १३.४६ प्रतिशतबाट बढेर १५.०२ प्रतिशत पुगेको छ भने आयात हिस्सा ८६.५४ प्रतिशतबाट घटेर ८४.९८ प्रतिशतमा झरेको छ ।