• Menu

३३ अंकले बढ्यो नेप्से, कारोबार साढे ७ अर्ब

नेपाल प्रफिट

२०८३ कात्तिक ११, बुधबार १५:४७

३३ अंकले बढ्यो नेप्से, कारोबार साढे ७ अर्ब

काठमाडौं । नेपाली सेयर बजारमा बुधबार खरिदकर्ताको सक्रियता बढेसँगै नेप्से परिसूचकमा उल्लेख्य सुधार आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा ३३.२९ अंकको वृद्धि भएसँगै नेप्से परिसूचक २६६४ अंकमा पुगेको छ । यो विन्दु गत साउन ३० गतेयताकै उच्च हो । 

बजारमा देखिएको सकारात्मक लयका कारण अधिकांश कम्पनीको सेयर मूल्य उकालो लागेको छ । बुधबार कारोबारमा आएकामध्ये कुल २४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ कम्पनीको मूल्यमा गिरावट आएको छ । तीन कम्पनीको मूल्य भने स्थिर रह्यो । मूल्य बढ्ने कम्पनीको बाहुल्यताले बजारमा खरिद पक्ष बलियो रहेको स्पष्ट संकेत गरेको छ ।

बुधबार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । दिनभरिमा कुल ७ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन ५ अर्ब ८० करोड रुपैयाँको कारोबार भएकोमा एकै दिन १ अर्ब ६५ करोड रुपैयाँले रकम बढेको हो । कारोबार रकमका हिसाबले यो गत भदौ ३० गतेयताकै उच्च हो ।

बुधबारको बजारमा विशेषगरी जलविद्युत कम्पनीहरूप्रति लगानीकर्ताको आकर्षण बढी देखिएको छ । जलविद्युत समूहको सूचक २.०६ प्रतिशतले बढ्दै अन्य सबै उपसमूहलाई पछाडि पारेको छ ।

व्यापार समूहबाहेक अन्य सबै उपसूचकहरू हरियाली बनेका छन् । जीवन बिमा समूह १.५९ प्रतिशत, वित्त १.५५ प्रतिशत, लगानी १.५२ प्रतिशत र बैंकिङ समूह १.३६ प्रतिशतले बढेका छन् । यस्तै, होटल तथा पर्यटन १.३४ प्रतिशत, विकास बैंक १.११ प्रतिशत, लघुवित्त ०.८७ प्रतिशत, अन्य ०.८५ प्रतिशत तथा उत्पादन तथा प्रशोधन समूह ०.६६ प्रतिशतले उकालो लागेका छन् । निर्जीवन बीमा समूहमा ०.४४ प्रतिशतको वृद्धि देखिँदा व्यापार समूहको सूचक भने ०.४४ प्रतिशतले घटेको छ ।

बेनी हाइड्रोपावरको मूल्यमा उछाल, लिबर्टी इनर्जीको सर्वाधिक कारोबार

बुधबार हालै सूचीकृत बेनी हाइड्रोपावरको सेयर मूल्यमा १५ प्रतिशतको उछाल आएको छ । त्यस्तै, बुटवल पावर कम्पनीको सेयर मूल्य १०.६० प्रतिशतले बढेको छ । सुपर खुदी हाइड्रोपावर ६.२६, एनआरएन इन्फ्रास्ट्रक्चर ६.२२, युनियन हाइड्रोपावर ५.८६, सान्जेन जलविद्युत ५.८१, स्वस्तिक लघुवित्त (५.६७ र होटल फरेस्ट इन ५.४१ प्रतिशत बढेको छ ।

दोस्रो बजारमा सिर्जनशील लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी २.३० प्रतिशतले घटेको छ । त्यस्तै, चिरख्वा हाइड्रोपावर २.१२ प्रतिशत र माथिल्लो मैलुङखोलाको मूल्य १.९१ प्रतिशतले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा भने लिबर्टी इनर्जी पहिलो स्थानमा रह्यो । घलेम्दी हाइड्रोपावर, बुटवल पावर कम्पनी, अपी पावर, सोलु हाइड्रोपावर, ग्रिन भेन्चर्स, पिपुल्स हाइड्रोपावर, सानिमा बैंक, सानिमा मिडिल तमोर र कुमारी बैंक पनि उच्च कारोबार हुने शीर्ष कम्पनीहरूको सूचीमा परेका छन् ।