काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ। दिनभरजसो २७०० अंकमाथि रहेको बजार अन्तिम समयमा घटेर २६९० अंकमा झरेको हो।
शुक्रबार मध्याह्न साढे १२ बजे नेप्से परिसूचक २७१२ अंकसम्म पुगेको थियो। तर, बजार बन्द हुँदा अघिल्लो दिनको तुलनामा ५.४५ अंक घटेर २६९० अंकमा कायम भयो। बिहीबार नेप्से ३१ अंक बढेर २६९५ अंकमा पुगेको थियो।
परिसूचक घटे पनि शुक्रबार कारोबार रकम भने पछिल्लो सात महिनायताकै उच्च पुगेको छ। यस दिन ८ अर्ब ८९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यो कारोबार रकम गत वैशाख ३ गतेयताकै उच्च हो। उक्त दिन ९ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो। बिहीबार भने ८ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।
शुक्रबार कारोबार भएका कम्पनीमध्ये १०२ वटाको सेयर मूल्य बढेको छ भने १६९ वटाको घटेको छ। त्यस्तै, ८ कम्पनीको मूल्य स्थिर रहेको छ।
शुक्रबारको कारोबारमा विकास बैंक समूह सबैभन्दा बढी १.६१ प्रतिशतले बढेको छ। त्यस्तै, निर्जीवन बीमा समूह ०.३० प्रतिशत, व्यापार समूह ०.२५ प्रतिशत र अन्य समूह ०.१५ प्रतिशतले बढेका छन्।
बाँकी अधिकांश समूहका सूचक भने घटेका छन्। बैंकिङ समूह ०.४४ प्रतिशत, फाइनान्स ०.४७ प्रतिशत, होटल तथा पर्यटन ०.२३ प्रतिशत, जलविद्युत् ०.५७ प्रतिशत, लगानी ०.२२ प्रतिशत, जीवन बीमा ०.१६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३८ प्रतिशत र माइक्रोफाइनान्स समूह ०.१२ प्रतिशतले घटेका छन्।
शुक्रबार हालै सूचीकृत बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ।
त्यस्तै, स्वाभिमान लघुवित्तको १२.११ प्रतिशत, लुम्बिनी विकास बैंकको ७ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ६.६४ प्रतिशत, सप्तकोशी विकास बैंकको ५.४४ प्रतिशत, मेरो माइक्रोफाइनान्सको ३.७३ प्रतिशत र रसुवागढी हाइड्रोपावरको ३.५९ प्रतिशतले मूल्य बढेको छ।
यस दिन मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.०८ प्रतिशतले घटेको छ। त्यस्तै, सुपर खुदी हाइड्रोपावरको ३.७८ प्रतिशत र सोपान फर्मास्युटिकल्सको ३.५२ प्रतिशतले मूल्य घटेको छ।
शुक्रबार कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक सबैभन्दा अगाडि रहेको छ। त्यसपछि शिवम् सिमेन्ट, घलेम्दी हाइड्रोपावर, ग्रिन भेन्चर्स, सोलु हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोनापुर मिनरल्स क्रमशः धेरै कारोबार हुने कम्पनीमा परेका छन्।