एजेन्सी । युरोपेली संघ (इयु) को शान्ति मिसनअन्तर्गत बोस्निया र हर्जगोभिनामा तैनाथ इटालियन सैन्य हेलिकप्टर दुर्घटना हुँदा चार सैनिकको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।
युरोपेली संघीय सेना (इयुफोर) का अनुसार अक्टोबर २९ मा ब्रस्को नजिकैको गोरिस क्षेत्रमा नियमित सैन्य अभ्यासका क्रममा इटालियन चिनुक हेलिकप्टर दुर्घटनामा परेको हो । घाइते ११ जनाको अवस्था स्थिर रहेको र उनीहरूको उपचार भइरहेको इयुफोरले जनाएको छ ।
दुर्घटनापछि स्थानीय आपत्कालीन चिकित्सा टोली र इयुफोरका सम्पर्क तथा अवलोकन टोली घटनास्थल पुगेका थिए । उनीहरूले घाइतेलाई उद्धार गरी ब्रस्कोको चिकित्सा केन्द्रमा पुर्याएका थिए ।
इयुफोरले दुर्घटनामा कुनै पनि सर्वसाधारण घाइते नभएको र नागरिक पूर्वाधार, सम्पत्ति तथा सवारीसाधनमा क्षति नपुगेको स्पष्ट पारेको छ । दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको र तथ्य पुष्टि भएपछि थप जानकारी सार्वजनिक गरिने मिसनले जनाएको छ । साथै, अपुष्ट सूचना नफैलाउन र दुर्घटनामा संलग्न सैनिकको पहिचान तथा राष्ट्रियताबारे अनुमान नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार र घाइतेप्रति समवेदना प्रकट गरेकी छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले इटाली सरकारका तर्फबाट पीडित परिवारप्रति समर्थन र ऐक्यबद्धता व्यक्त गरेकी हुन् । उनले क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न खटिएका सबै कर्मचारीप्रति पनि सहानुभूति जनाएकी छन् ।
बोस्निया र हर्जगोभिनामा युरोपेली संघ (इयु) को शान्ति मिसनअन्तर्गत उक्त हेलिकप्टर परिचालित थियो । इटालीको नेतृत्वमा सञ्चालन भइरहेको इयुफोर मिसनले त्यहाँ शान्ति र स्थिरता कायम गर्ने कार्य गर्दै आएको छ । रासस