• Menu

बाइनान्समा इतिहासकै ठूलो क्रिप्टो ह्याक, ५.९ अर्ब डलरको डिजिटल सम्पत्ति चोरी

नेपाल प्रफिट

२०८३ कात्तिक १३, शुक्रबार १३:२०

बाइनान्समा इतिहासकै ठूलो क्रिप्टो ह्याक, ५.९ अर्ब डलरको डिजिटल सम्पत्ति चोरी

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समा ठूलो साइबर हमला भएको छ। क्रिप्टो विश्लेषण गर्ने विभिन्न संस्था तथा विज्ञहरूले यस घटनामा ५ अर्ब डलरभन्दा बढी मूल्यको डिजिटल सम्पत्ति चोरी भएको अनुमान गरेका छन्। यो रकम नेपाली रुपैयाँमा करिब ६ खर्ब ८० अर्ब रुपैयाँ बराबर हुन्छ। प्रारम्भिक अनुमानअनुसार यो क्रिप्टोकरेन्सी क्षेत्रकै सबैभन्दा ठूलो ह्याकिङ घटनामध्ये एक हो।

घटनापछि बाइनान्सले ग्राहकको निक्षेप तथा निकासी सेवा अस्थायी रूपमा निलम्बन गरेको छ। ह्याकरहरूले थप रकम निकाल्न नपाऊन् भन्ने उद्देश्यले कम्पनीले तत्काल कारोबारमा रोक लगाएको जनाएको छ।

क्रिप्टो विश्लेषण संस्था ग्लासनोडका अनुसार यस घटनामा करिब ५.३ अर्ब डलर बराबरको क्रिप्टो चोरी भएको हुन सक्छ। त्यस्तै, चेनालाइसिसले चोरी भएको रकम ५.९ अर्ब डलर पुग्न सक्ने अनुमान गरेको छ। यद्यपि, बाइनान्सले अहिलेसम्म चोरी भएको वास्तविक रकम सार्वजनिक गरेको छैन।

प्रारम्भिक अनुसन्धानअनुसार बाइनान्सका एक विकासकर्ता इन्जिनियरको ल्यापटप ह्याक भएपछि आक्रमणकारीहरूले कम्पनीको प्रणालीमा पहुँच बनाएको आशंका गरिएको छ। ह्याकरहरूले सेवा कन्टेनरमा प्रवेश गरी अनधिकृत निकासी आदेशहरू पठाएको हुन सक्ने कम्पनीको प्रारम्भिक आकलन छ।

घटनापछि बाइनान्सले ग्राहकको रकम सुरक्षाका लागि आवश्यक कदम चालिएको र अनुसन्धानबाट कुनै ग्राहकको सम्पत्ति गुमेको पुष्टि भए क्षतिपूर्ति दिने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीको सुरक्षा टोलीले अन्तर्राष्ट्रिय प्रहरी तथा साइबर सुरक्षा विज्ञहरूसँग मिलेर घटनाको अनुसन्धान गरिरहेको छ।

यसैबीच, चोरी भएको भनिएको डिजिटल सम्पत्ति रोक्का गर्ने प्रयास पनि तीव्र पारिएको छ। बाइनान्सले करिब ३ अर्ब डलर बराबरको सम्पत्ति फ्रिज गरेको छ। त्यस्तै, टेथरले १.६ अर्ब डलर र सर्कलले ८० करोड डलर बराबरको सम्पत्ति रोक्का गरेको बताइएको छ। तीनवटै कम्पनीको संयुक्त प्रयासबाट करिब ५.४ अर्ब डलर बराबरको डिजिटल सम्पत्ति ब्लक गरिएको अनुमान छ।

यदि चोरी भएको रकमसम्बन्धी प्रारम्भिक अनुमान सही साबित भएमा यो सन् २०२५ मा दुबईस्थित बाइबिट क्रिप्टो एक्सचेन्जमा भएको १.५ अर्ब डलरको ह्याकिङभन्दा निकै ठूलो हुनेछ। उक्त घटनामा उत्तर कोरियाली ह्याकरहरूको संलग्नता रहेको बताइएको थियो।

ह्याकिङको खबर सार्वजनिक भएपछि विश्व क्रिप्टो बजारमा समेत नकारात्मक प्रभाव परेको छ। बिटक्वाइनको मूल्य करिब ५ प्रतिशतले घटेको छ भने इथेरियम र सोलानाजस्ता अन्य प्रमुख क्रिप्टोकरेन्सीको मूल्यमा पनि गिरावट आएको छ।

सन् २०१७ मा चाङपेङ झाओ (सीजेड) द्वारा स्थापना गरिएको बाइनान्स दैनिक कारोबारका आधारमा विश्वकै सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज हो । कम्पनीका विश्वभर ३० करोडभन्दा बढी दर्ता भएका प्रयोगकर्ता रहेको बताइएको छ।

घटनाबारे बाइनान्सका पूर्वप्रमुख चाङपेङ झाओले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै यो घटना ह्याकिङजस्तो देखिएको बताएका छन् । उनले अनुसन्धान पूरा भएपछि विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने जनाएका छन् ।

कम्पनीले प्रयोगकर्ताहरूलाई तत्कालका लागि आधिकारिक सूचना तथा सञ्चार माध्यमबाट प्राप्त जानकारीमा मात्र विश्वास गर्न आग्रह गरेको छ।

क्रिप्टोकरेन्सी डिजिटल माध्यमबाट कारोबार गरिने मुद्रा हो, जुन परम्परागत रूपमा सरकार वा केन्द्रीय बैंकद्वारा जारी हुँदैन । ब्लकचेन प्रविधिमा आधारित यसको कारोबारमा साइबर सुरक्षाको जोखिम रहन्छ। बाइनान्समा भएको भनिएको यस घटनाले विश्वव्यापी क्रिप्टो बजारमा डिजिटल सम्पत्तिको सुरक्षा र नियमनसम्बन्धी बहसलाई थप चर्काउने देखिएको छ।