• Menu

धान सिजनलाई लक्षित गरी प्रमुख सिँचाइ नहरहरू पूर्ण रूपमा सञ्चालन, नयाँ २०० हेक्टरमा सिँचाइ विस्तार

नेपाल प्रफिट

२०८३ कात्तिक १६, सोमबार १४:०७

धान सिजनलाई लक्षित गरी प्रमुख सिँचाइ नहरहरू पूर्ण रूपमा सञ्चालन, नयाँ २०० हेक्टरमा सिँचाइ विस्तार

काठमाडौं । मनसुनको धान सिजनलाई लक्षित गर्दै मुलुकका प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ। किसानका खेतसम्म पर्याप्त पानी पुर्‍याउन नहर सञ्चालनलाई प्राथमिकता दिइएको जलस्रोत तथा सिँचाइ विभागले जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विभागका अनुसार सुनसरी-मोरङ सिँचाइ आयोजनाले ६८ हजार हेक्टर क्षेत्रमा सिँचाइ सेवा उपलब्ध गराइरहेको छ। यसमध्ये ५५ हजार हेक्टर क्षेत्रमा सतह सिँचाइमार्फत पानी पुर्‍याइएको छ। त्यस्तै, राजापुर सिँचाइ व्यवस्थापन कार्यालयले १४ हजार १३८ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराएको छ।

कमला सिँचाइ प्रणाली, भेरी करिडोर तथा बृहत् दाङ उपत्यका सिँचाइ आयोजनामा समेत धानबालीका लागि नहर निरन्तर सञ्चालनमा रहेका छन्।

विभागका महानिर्देशक दिनेश रजौरियाका अनुसार धानबालीको सिजनमा किसानलाई पानी आपूर्ति सहज बनाउन निर्माण कार्यको तालिका परिवर्तन गरिएको छ। नहर सञ्चालनमा अवरोध नहोस् भनेर निर्माणका काम बाली भित्र्याएपछि गर्ने गरी व्यवस्थापन मिलाइएको उनले बताए।

यसैगरी, पोखरा (कास्की) अन्तर्गत ३५ हेक्टर, भेरी करिडोरमा १० हेक्टर र विराटनगर क्षेत्रमा ३ हेक्टर नयाँ जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको रजौरियाले जानकारी दिए।

विभागका अनुसार सिक्टा र बबईलगायतका सिँचाइ आयोजनासमेत समेट्दा भदौ मसान्तसम्म करिब २०० हेक्टर नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ।

धानबालीको उत्पादन र उत्पादकत्व बढाउन सिँचाइ सुविधा विस्तारसँगै सञ्चालनमा रहेका नहरबाट नियमित पानी आपूर्ति गर्ने कामलाई विभागले प्राथमिकतामा राखेको जनाएको छ।