• Menu

बाँदरको हैरानीले भोजपुरका किसानलाई अदुवाखेती तर्फ आकर्षण, वैकल्पिक आम्दानीको भरपर्दो स्रोत बन्दै

नेपाल प्रफिट

२०८३ कात्तिक २९, आइतबार १५:०७

बाँदरको हैरानीले भोजपुरका किसानलाई अदुवाखेती तर्फ आकर्षण, वैकल्पिक आम्दानीको भरपर्दो स्रोत बन्दै

भोजपुर । बाँदरको बढ्दो आतंकका कारण परम्परागत खाद्यबाली खेती गर्न कठिन भएपछि भोजपुरका किसान अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन्। बाँदरले मकै, कोदो तथा अन्य खाद्यबाली नष्ट गर्न थालेपछि किसानले अदुवाखेतीलाई वैकल्पिक आम्दानीको स्रोत बनाउन थालेका छन्।

भोजपुर नगरपालिका-६ की किसान गीता खड्काले बाँदरको समस्या बढ्दै गएपछि अदुवाखेती सुरु गरेको बताइन्। जमिनमुनि गाँनो फल्ने भएकाले अदुवा बाँदरबाट सुरक्षित हुने र व्यावसायिक खेती गर्न सके राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ।

खाद्यबाली जोगाउन निकै कठिन हुन थालेपछि अदुवाखेती तुलनात्मक रूपमा सहज विकल्प बनेको खड्काले बताइन्। बाँदरको हैरानीले खेतीपाती गर्न समस्या भोगिरहेका किसानका लागि अदुवाखेती उपयोगी माध्यम बन्न सक्ने उनको विश्वास छ।

त्यस्तै, अर्की किसान सावित्रा पोखरेलले करिब डेढ रोपनी क्षेत्रफलमा अदुवाखेती गर्दै आएकी छन्। खेतीको क्षेत्रफल अझ विस्तार गर्ने योजना बनाएकी उनले अन्य खाद्यबालीमा बाँदरले क्षति पुर्‍याउन थालेपछि अदुवाखेतीलाई प्राथमिकता दिएको बताइन्।

पोखरेलका अनुसार स्थानीय बजारमा अदुवा प्रतिकिलो १०० देखि १२० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। ताजा अदुवा बिक्री गर्नुका साथै सुकाएर धुलो बनाई बिक्री गर्न सकिने भएकाले बजार व्यवस्थापनमा समेत सहजता रहेको उनको भनाइ छ। यसले उत्पादन खेर जाने जोखिम पनि कम गर्ने उनी बताउँछिन्।

ग्रामीण क्षेत्रमा बाँदरको बढ्दो समस्या कृषि उत्पादनका लागि चुनौती बन्दै गएको छ। खेतबारीमा लगाइएका धान, मकै र कोदोलगायतका बालीमा बाँदरले क्षति पुर्‍याउँदा किसान वैकल्पिक खेतीको खोजीमा लागेका छन्।

स्थानीय बजारमा अदुवाको मूल्य राम्रो रहेकाले यसको व्यावसायिक खेती विस्तार गर्न सके किसानको आम्दानी बढाउन सकिने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ। बाँदरबाट खाद्यबाली जोगाउन कठिन भइरहेका बेला अदुवाखेती भोजपुरका किसानका लागि आयआर्जनको नयाँ विकल्प बन्दै गएको छ।