• Menu

तराई-मधेशबाट पहाड र उपत्यकामा विस्तार हुँदै छठ पर्व, १७ स्थानमा विशेष व्यवस्थापन गरिँदै

नेपाल प्रफिट

२०८३ कात्तिक २६, बिहीबार १३:०६

तराई-मधेशबाट पहाड र उपत्यकामा विस्तार हुँदै छठ पर्व, १७ स्थानमा विशेष व्यवस्थापन गरिँदै

काठमाडौं । छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका विभिन्न नदी किनार, पोखरी तथा जलाशयमा तयारी तीव्र पारिएको छ। उपत्यकामा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको संख्या बढ्दै गएपछि यस वर्ष १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको छ।

गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पर्वका लागि आवश्यक तयारी भइरहेको छ। पर्वका अवसरमा व्रतालुले नदी, पोखरी तथा जलाशयको किनारमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा गर्ने परम्परा छ।

गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार गौरीघाटमा मात्रै ५५७ जना व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ। घाटमा पाल टाँग्ने, बत्तीको व्यवस्था गर्ने, नदी किनार सफा गर्ने तथा आवश्यक पूर्वाधार तयार पार्ने काम भइरहेको उनले जानकारी दिए।

उनले काठमाडौंमा छठ पर्व मनाउने परम्परा विस्तार हुँदै गएको उल्लेख गर्दै तयारी अन्तिम चरणमा पुगेको बताए। व्रतालुलाई सहज रूपमा पूजा गर्न सक्ने वातावरण निर्माण गर्न व्यवस्थापन समिति जुटिरहेको उनको भनाइ छ।

काठमाडौंमा छठ पूजा गरिने प्रमुख स्थानमा गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, थापाथली, टेकु, वंशीघाट, कुपण्डोल र बल्खु क्षेत्र रहेका छन्। त्यसैगरी विष्णुमती नदी किनार, नख्खु नदी किनार, तीनकुने दोभान, टङ्केश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट तथा बालाजुको बाइसधारामा पनि छठ पूजा गरिँदै आएको छ।

काठमाडौं  महानगरपालिकाले विगतका वर्षमा कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खुस्थित कुमारी क्लब क्षेत्र, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटलाई छठ पूजाका प्रमुख स्थलका रूपमा व्यवस्थापन गर्दै आएको छ। बालाजुको बाइसधारा र वंशीघाटलगायत स्थानमा पनि पर्वका लागि घाट निर्माण तथा व्यवस्थापन गरिँदै आएको छ।

चार दिनसम्म विभिन्न धार्मिक विधि र आस्थाका साथ मनाइने छठ पर्वअन्तर्गत कात्तिक २८ गते शनिबार खरना विधि गरिनेछ। कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिनेछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुनेछ।

विशेषगरी तराई-मधेशमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा समेत विस्तार हुँदै गएको छ। रासस