मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा आज भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ ।
इभी चालक सर्लाही कविलासी नगरपालिका-८ का रविशङ्कर कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
प्रहरीका अनुसार, उक्त दुर्घटनामा १० जनाको मृत्यु हुनका साथै ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन् । दुर्घटनाका घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंबाट सर्लाहीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको यात्रुबाहक इभी बिहान करिब ५ः४५ बजे भीमफेदी-कुलेखानी-काठमाडौं सडकबाट करिब ५०० मिटर तल झरेको थियो ।
अन्य मृतकको पहिचान तथा दुर्घटनाका कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।