• Menu

९ वर्षपछि बन्यो खजुराको चारलेन सडक, नेपालगन्ज-गुलरिया हुलाकी राजमार्गका यात्रुलाई राहत

नेपाल प्रफिट

२०८३ कात्तिक २४, मंगलबार १३:२०

९ वर्षपछि बन्यो खजुराको चारलेन सडक, नेपालगन्ज-गुलरिया हुलाकी राजमार्गका यात्रुलाई राहत

बाँके । ९ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण सम्पन्न भएपछि  बजारको मुहार फेरिएको छ। नेपालगन्ज-गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजरा बजार क्षेत्रमा सडक स्तरोन्नति भएपछि स्थानीयवासी, व्यवसायी तथा यात्रुलाई आवागमनमा सहज भएको छ।

खजुरा बजार क्षेत्रको एक हजार ८०० मिटर सडक निर्माणको जिम्मा पाएको तत्कालीन निर्माण कम्पनीले काम अधुरै छाडेपछि सडक डिभिजनबाट हुलाकी राजमार्ग निर्देशनालयले जिम्मेवारी लिएर सडक निर्माण सम्पन्न गरेको हो।

खजुरा बजार क्षेत्रमा १६ मिटर चौडाइको अस्फाल्ट कालोपत्रे र करिब दुई मिटरको फुटपाथ निर्माण गरिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार एक हजार ८०० मिटर सडक र पेडारी नालाको पुल निर्माणका लागि छुट्टाछुट्टै ठेक्का लगाएर काम गरिएको हो।

नेपालगन्ज-गुलरिया हुलाकी सडकको २७ किलोमिटर खण्ड निर्माण सम्पन्न भएर सञ्चालनमा आइसक्दा पनि खजुरा बजार खण्ड भने लामो समयदेखि अलपत्र थियो। पछि हुलाकी राजमार्ग निर्देशनालयले ठेक्का लगाएर उक्त सडक निर्माण सम्पन्न गरेको हो।

योजना कार्यालय नेपालगञ्जबाट सात करोड एक हजार ६९ रुपैयाँमा ठेक्का पाएको मैटहवा-एनएटी-स्टेटलाइट जेभीले एक हजार ८०० मिटर सडकमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे गरेको भण्डारीले बताए।

विसं २०७४ मा सडक डिभिजनले चारलेन सडक निर्माणका लागि ठेक्का लगाएको थियो। गजुरमुखी कन्स्ट्रक्सन कम्पनी इलामले २०७४ सालचैतमा निर्माण सुरु गरेको उक्त सडक २०७७ साल चैतसम्म सम्पन्न गर्नुपर्ने थियो। तर, पटकपटक म्याद थप्दा पनि निर्माण कम्पनीको लापरबाहीका कारण काम पूरा हुन सकेन।

निर्माण गरिएको सडकसमेत गुणस्तरहीन र अधुरो भएपछि स्थानीयवासीले पटकपटक आन्दोलन तथा विरोध गर्दै आएका थिए। स्थानीयको निरन्तर विरोधका बाबजुद निर्माण कम्पनीले काममा सुधार नगरेपछि सडक डिभिजनले ठेक्का सम्झौता खारेज गरेको थियो।

सडक निर्माण सम्पन्न भएसँगै खजुरा बजारको स्वरूपमा परिवर्तन आएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताए। उनका अनुसार लामो समयदेखि सडकका कारण समस्या भोग्दै आएका स्थानीयवासी र हुलाकी राजमार्गमा यात्रा गर्ने यात्रुलाई अब सहज भएको छ।

सडक स्तरोन्नतिले खजुरा बजारको पहुँच विस्तार हुनुका साथै व्यापारिक गतिविधि र आवागमनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। रासस