भक्तपुर । सभामुख डोलप्रसाद अर्यालले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्न सबैलाई आग्रह गरेका छन्।
नेपाल संवत् ११४७ को अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा शङ्खधर साख्वाःको शालिकमा माल्यार्पण कार्यक्रममा बोल्दै उनले साख्वाःको योगदानबाट प्रेरणा लिएर देश र जनतालाई केन्द्रमा राख्नुपर्ने बताए।
नेपाल संवत् केवल वर्ष गणना गर्ने आधार मात्र नभई नेपालको ऐतिहासिक सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक भएको उल्लेख गर्दै सभामुख अर्यालले आफ्नो व्यक्तिगत सम्पत्ति जनतालाई समर्पण गरेर ऋणमुक्त बनाउने साख्वाःको योगदान सामाजिक न्याय र लोककल्याणको उत्कृष्ट उदाहरण भएको धारणा व्यक्त गरे।
उनले सरकारी कामकाज तथा अभिलेखमा नेपाल संवत्को प्रयोग सुरु भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्ने बताए। नेपाल संवत्लाई शैक्षिक क्षेत्रदेखि डिजिटल प्रणालीसम्म प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
इतिहास र संस्कृतिको संरक्षण, सार्वजनिक जीवनमा इमानदारी र जवाफदेहिता कायम गर्नुका साथै विविधताबीचको एकता र सामाजिक सद्भावलाई बलियो बनाउन सबैले संकल्प गर्नुपर्ने सभामुख अर्यालले बताए। उनले राष्ट्रिय विभूति साख्वाःले देखाएको बाटो पछ्याउँदै देश र जनताको पक्षमा काम गर्न आग्रह गरे।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शङ्खधर साख्वाःको योगदानको चर्चा गर्दै प्रदेश सरकारले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि बजेट व्यवस्था गरेको जानकारी दिए।
सङ्ग्रहालय निर्माणका साथै भाषा, साहित्य, कला र संस्कृतिको उत्थानका लागि बागमती प्रदेशका सबै जिल्लामा शङ्खधर साख्वाः प्रतिष्ठान स्थापना गर्ने कार्यक्रम दोलखाबाट सुरु गरिएको उनले बताए। क्रमशः सबै जिल्लामा प्रतिष्ठान स्थापना गर्ने सरकारको योजना रहेको उनको भनाइ थियो।
बागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न ऐन बनाएर कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै मुख्यमन्त्री थापामगरले कोशी प्रदेशले पनि १३ वटा भाषालाई सरकारी कामकाजमा प्रयोगमा ल्याएको जानकारी दिए।
मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शङ्खधर साख्वाःको नाममा सङ्ग्रहालय निर्माणको काम अघि बढाइएको बताए। साख्वाःको ऐतिहासिक तथा सामाजिक योगदानलाई आमजनतामाझ पुर्याउन विभिन्न कार्यक्रम र योजना सञ्चालन भइरहेको उनको भनाइ थियो।
कार्यक्रममा सभामुख अर्याल, गृहमन्त्री सुदन गुरुङ, बागमती प्रदेशका मुख्यमन्त्री थापामगरलगायत अतिथिले शङ्खधर चोकमा रहेको साख्वाःको शालिकमा माल्यार्पण गरेका थिए।
नेपाली कांग्रेसका उपसभापति मधु आचार्य, प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं सांसद मदनकृष्ण श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले राष्ट्रिय विभूति साख्वाःको योगदानको चर्चा गर्दै उनको शालिक देशव्यापी रूपमा स्थापना गर्ने अभियान सुरु भएको जानकारी दिए।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने एक लाख ११ हजार १११ रुपैयाँ राशिको पुरस्कार इतिहासकार हरिराम जोशीलाई प्रदान गरिएको थियो। त्यस्तै, प्रतिष्ठानले प्रदान गर्ने एक लाख ११ हजार १११ रुपैयाँ राशिको संस्थागत पुरस्कार शङ्खधर साख्वाः निर्माण समिति, चरिकोटलाई प्रदान गरियो।
कार्यक्रममा प्रतिष्ठानद्वारा प्रकाशित स्मारिकाको विमोचनका साथै विभिन्न सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिएको थियो। रासस