तनहुँ । बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ । सेताम्मे कुहिरोमाथि उदाउँदै गरेको घामको सुनौलो किरण, वरपरका पहाडी शृङ्खला र चिसो हावाको स्पर्शले यहाँ पुग्ने जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ । यही दृश्य हेर्न अहिले तनहुँको पर्यटकीय गन्तव्य मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।
पोखराबाट मानुङकोट पुगेएकी गीता पराजुलीले यहाँको बिहानलाई अविस्मरणीय अनुभवका रूपमा लिइन् । एक रात मानुङकोटमै बिताएर बिहान सूर्योदय र कुहिरोको दृश्य नियाल्दा आफू निकै लोभिएको उनले बताइन् । यहाँबाट देखिने प्राकृतिक दृश्यले मनै लोभ्याउने उनको अनुभव छ ।
पोखराकै राधिका पराजुली पनि कुहिरोले ढपक्क ढाकेको दृश्य देखेर मन्त्रमुग्ध भइन् । बिहानको समयमा चारैतिर फैलिएको कुहिरो र त्यसबीचबाट देखिने प्राकृतिक दृश्य निकै सुन्दर लागेको उनले बताइन् । यी पर्यटकको अनुभवले मानुङकोट केवल एकछिन पुगेर फर्किने गन्तव्य मात्र नभई रात बिताएर बिहानको प्राकृतिक सौन्दर्य नियाल्न चाहनेका लागि समेत आकर्षक स्थल बन्दै गएको संकेत गर्छ ।
तनहुँको व्यास नगरपालिका-५ मा अवस्थित मानुङकोटमा चिसो मौसमको सुरुआतसँगै पर्यटकको आवागमन बढेको छ । बिदा मनाउन परिवार, साथीभाइ तथा समूह बनाएर आउने आन्तरिक पर्यटकका कारण यहाँको पर्यटकीय गतिविधि बढ्न थालेको हो । मानुङकोटको मुख्य आकर्षण बिहान देखिने कुहिरो र सूर्योदय हो । मौसम अनुकूल हुँदा डाँडाबाट तल फैलिएको कुहिरो, त्यसमाथि उदाउने सूर्य र टाढासम्म देखिने पहाडी भूभागले मनमोहक दृश्य सिर्जना गर्छन् । चिसो मौसम सुरु भएसँगै यहाँको वातावरण थप रमणीय बन्ने भएकाले पर्यटकको आकर्षण बढ्ने गरेको छ ।
मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेका बेला देखिने हिमशृङ्खला र बिहानको बदलिँदो प्राकृतिक दृश्य यहाँ पुग्ने पर्यटकका लागि विशेष आकर्षण बन्ने गरेका छन् । प्राकृतिक दृश्यसँगै शान्त वातावरणमा समय बिताउन चाहनेका लागि पनि मानुङकोट उपयुक्त गन्तव्यका रूपमा चिनिँदै गएको छ । दमौली बजारबाट नजिकै रहेकाले छोटो समयको घुमघामदेखि रात बिताएर सूर्योदय हेर्ने यात्रासम्मका लागि यहाँ पुग्ने पर्यटकको रोजाइ बढेको छ ।
स्थानीय युवा अनिल अधिकारीका अनुसार पछिल्ला केही दिनयता दैनिक दुईदेखि तीन सयसम्म पर्यटक मानुङकोट पुग्ने गरेका छन् । पर्यटकको यो आवागमनले मानुङकोटमा चहलपहल बढाएको छ । बिहान सूर्योदय हेर्न पुग्ने, प्राकृतिक दृश्य नियाल्ने र तस्बिर खिच्ने पर्यटकका कारण यहाँको वातावरण थप चलायमान बनेको उनले बताए ।
पर्यटकको आवागमन बढेसँगै मानुङकोट आसपासका होटल तथा अन्य व्यवसायमा पनि चहलपहल बढ्न थालेको छ । स्थानीय व्यवसायी शैलेश सुनामका अनुसार पर्यटकको उपस्थितिले स्थानीय व्यवसायलाई लाभ पुगेको छ । पर्यटकको संख्या बढ्दा होटल तथा खानपानसम्बन्धी सेवाको माग बढ्ने मात्र नभई स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसरसमेत विस्तार हुन सक्छन् । पर्यटकलाई आवश्यक सेवा उपलब्ध गराउने व्यवसायी, सवारीसाधन सञ्चालक तथा स्थानीय उत्पादनसँग जोडिएका व्यक्तिले समेत पर्यटन गतिविधिबाट लाभ लिन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।
कुहिरोसँग जोडिएको धार्मिक किंवदन्ती
मानुङकोटबाट देखिने कुहिरोको दृश्यलाई स्थानीय धार्मिक तथा सांस्कृतिक विश्वाससँग पनि जोड्ने गरिएको छ । दमौली बजारलाई कुहिरोले ढाक्ने घटनासँग महर्षि वेदव्यासका पिता पराशर ऋषि र सत्यवतीसम्बन्धी पौराणिक किंवदन्ती जोडिएको छ ।
किंवदन्तीअनुसार पराशर ऋषिले सत्यवतीसँग एकान्तमा बस्न चाहँदा लोकले थाहा नपाओस् भनेर कुहिरो उत्पन्न गराएका थिए । यही धार्मिक विश्वासका कारण दमौली र आसपासमा देखिने कुहिरोले सांस्कृतिक तथा पौराणिक महत्व समेत पाएको छ । प्राकृतिक दृश्यसँगै यस्ता किंवदन्तीले पनि मानुङकोटको पहिचानलाई थप रोचक बनाएका छन् । यहाँ पुग्ने पर्यटकले कुहिरो र सूर्योदयको दृश्यसँगै स्थानीय समाजमा प्रचलित धार्मिक विश्वास तथा सांस्कृतिक कथाबारे बुझ्ने अवसर पाउँछन् ।
सात सय रोपनीमा पर्यटकीय ग्राम बनाउने तयारी
मानुङकोटमा पर्यटकको आकर्षण बढ्दै गएपछि व्यास नगरपालिकाले यस क्षेत्रलाई योजनाबद्ध रूपमा विकास गर्ने तयारी गरेको छ । नगरपालिकाले करिब सात सय रोपनी क्षेत्रफलमा जग्गा एकीकरण आयोजना सञ्चालन गरेर मानुङकोटलाई व्यवस्थित पर्यटकीय ग्रामका रूपमा विकास गर्न लागेको हो । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार मानुङकोटलाई व्यवस्थित र दिगो पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले जग्गा एकीकरण आयोजनाको तयारी अघि बढाइएको छ ।
प्रारम्भिक अध्ययनबाट आयोजना कार्यान्वयनका लागि क्षेत्र उपयुक्त देखिएको उनले बताए । आयोजनालाई नगरपालिकाको आफ्नै जग्गा एकीकरण आयोजना कार्यान्वयन इकाइमार्फत सञ्चालन गर्ने गरी संस्थागत तयारी भइरहेको उनको भनाइ छ । ‘दमौली बजार नजिकै रहेको यो क्षेत्र मौलिक पहिचान र दृश्यात्मक सौन्दर्यका कारण दीर्घकालीन पर्यटन विकासका लागि अत्यन्त सम्भावनायुक्त मानिन्छ,’ लम्सालले भने । उनका अनुसार आयोजना कार्यान्वयनमा आएपछि सडक, खानेपानी, विद्युत, पदमार्ग, पार्कलगायतका आधारभूत पूर्वाधार योजनाबद्ध रूपमा विकास गर्ने अपेक्षा गरिएको छ । यसले मानुङकोटलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आधार तयार गर्नेछ ।
जग्गा एकीकरणमार्फत बस्ती तथा पूर्वाधारलाई व्यवस्थित बनाउने योजनाले पर्यटन विकाससँगै स्थानीय बासिन्दाका लागि रोजगारी र व्यवस्थित बसोबासका अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, आवश्यक पूर्वाधार निर्माण गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सहज हुने नगरपालिकाको विश्वास छ ।
मौलिकता जोगाउँदै दिगो पर्यटनको चुनौती
मानुङकोटमा पर्यटकको चहलपहल बढ्नु स्थानीय अर्थतन्त्रका लागि अवसर हो तर पर्यटकीय गतिविधि बढ्दै जाँदा प्राकृतिक वातावरण, स्थानीय संस्कृति र गन्तव्यको मौलिकता जोगाउनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।सडक, खानेपानी, विद्युत्, पदमार्ग र सार्वजनिक सुविधाको विस्तारसँगै फोहोर व्यवस्थापन, स्वच्छता, सुरक्षित आवागमन र प्राकृतिक दृश्यको संरक्षणमा ध्यान दिन आवश्यक हुन्छ । पर्यटन पूर्वाधार निर्माण गर्दा स्थानीय बासिन्दाको आवश्यकता र सहभागितालाई प्राथमिकता दिन सके विकासका लाभ समुदायसम्म पुर्याउन सहज हुने बताइएको छ ।
मानुङकोटको आकर्षण यसको प्राकृतिक स्वरूप, बिहानको कुहिरो, सूर्योदय र वरपरका हिमाली तथा पहाडी दृश्यमा निहित छ । त्यसैले पूर्वाधार विकाससँगै यी प्राकृतिक विशेषताको संरक्षण गर्न सके मात्र यहाँको पर्यटन दीर्घकालीन रूपमा टिकाउ बन्नसक्ने अहिले चिसो मौसमसँगै मानुङकोटमा बढेको पर्यटकको चहलपहलले यस क्षेत्रको पर्यटन सम्भावनालाई फेरि उजागर गरेको छ । दैनिक दुईदेखि तीन सयसम्म पर्यटक पुग्न थालेको स्थानीयको भनाइ र सात सय रोपनीमा पर्यटकीय ग्राम विकास गर्ने नगरपालिकाको तयारीले मानुङकोटको आगामी पर्यटन यात्रालाई थप व्यवस्थित बनाउने अपेक्षा जगाएको छ ।
कुहिरोको घुम्टोभित्र लुकेको दमौली बजार, क्षितिजमा उदाउने सूर्य र टाढा देखिने हिमशृङ्खलाको मोहक दृश्य नै मानुङकोटको विशिष्ट पहिचान हो । यही पहिचान जोगाउँदै आवश्यक पूर्वाधार विस्तार गर्न सके मानुङकोट तनहुँको मात्र नभई गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने सम्भावना छ । रासस
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal