अन्ताल्या । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा कुनै एक देशको मात्र नभई विश्वकै साझा विषय भएको बताएका छन्। उनले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सामना गर्न क्षेत्रीय तथा विश्वव्यापी सहकार्य र ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिएका छन्।
टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) का अवसरमा नेपाल पेभिलियनमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले यस्तो धारणा राखेका हुन्।
‘रिजनल कोअपरेसन मेकानिजम फर द हिन्दुकुश हिमालयः लेसन्स फ्रम ट्रान्सबाउन्ड्री क्लाइमेट डिजास्टर्स’ विषयक साइड इभेन्टमा उनले हिन्दूकुश हिमाली क्षेत्रलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।
जलवायु परिवर्तनका असरले राष्ट्रिय सीमाना नचिन्ने उल्लेख गर्दै मन्त्री खनालले यसबाट उत्पन्न साझा चुनौतीको सामना गर्न क्षेत्रीय तथा विश्वव्यापी ऐक्यबद्धता थप मजबुत बनाउनुपर्ने बताए।
उनले पृथ्वीको पारिस्थितिक प्रणालीको स्वास्थ्य र मानवताको सामूहिक हित संरक्षणका लागि बहुसरोकारवाला साझेदारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिए।
कार्यक्रममा कोप-३१ मा सहभागी विभिन्न देशका नीति निर्माता, क्षेत्रीय विज्ञ, जलवायु अभियन्ता तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।