• Menu

तीन महिनामै वीरगन्ज नाकाबाट ६३ प्रतिशतले घट्यो आयात, कुन वस्तु कति भित्रियो ?

नेपाल प्रफिट

२०८३ कात्तिक २६, बिहीबार १३:१८

तीन महिनामै वीरगन्ज नाकाबाट ६३ प्रतिशतले घट्यो आयात, कुन वस्तु कति भित्रियो ?

पर्सा । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगन्ज नाका हुँदै हुने खाद्यान्न आयात करिब ६३ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चामल, धान, मकै, गहुँ, माल्ट, फापर र कोदोलगायत खाद्यान्नको आयातमा उल्लेख्य कमी आएको हो।

वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आवको साउनदेखि असोजसम्म ३ करोड १६ लाख ४० हजार किलो खाद्यान्न आयात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८ करोड ७० लाख ४७ हजार किलो खाद्यान्न आयात भएको थियो।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार चालु आवको पहिलो ३ महिनामा ६७ लाख ७३ हजार ६२९ किलो चामल आयात भएको छ। अघिल्लो आवको सोही अवधिमा ९४ लाख एक हजार किलो चामल आयात भएको थियो। चामल आयातको मूल्यसमेत अघिल्लो वर्षको ८९ करोड ८१ लाख रुपैयाँबाट घटेर चालु आवमा ७० करोड रुपैयाँमा झरेको छ।

धान आयातमा पनि ठूलो गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३ करोड ९१ लाख किलो धान आयात भएकामा चालु आवको सोही अवधिमा ६९ लाख ३५ हजार ४६० किलो मात्रै आयात भएको छ। यससँगै धान आयातको मूल्य एक अर्ब ४६ करोड २८ लाख रुपैयाँबाट घटेर ३३ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ।

त्यसैगरी मकै आयातमा पनि उल्लेख्य कमी आएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा ३ करोड ३६ लाख १२ हजार ८१० किलो मकै आयात भएकामा चालु आवमा ६७ लाख ३६ हजार ४३७ किलो मात्रै आयात भएको भन्सार कार्यालयले जनाएको छ।

मकै आयातको मूल्यसमेत अघिल्लो वर्षको एक अर्ब ८० करोड १३ लाख रुपैयाँबाट घटेर चालु आवमा ६० करोड ९८ लाख रुपैयाँमा झरेको छ।

फापर, कोदो तथा अन्य खाद्यान्नको आयातमा पनि कमी आएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा २३ लाख ४१ हजार ६५५ किलो आयात भएकामा चालु आवको सोही अवधिमा घटेर १६ लाख ४० हजार ५५५ किलोमा सीमित भएको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ।

वीरगञ्ज नाकाबाट हुने प्रमुख खाद्यान्नको आयात परिमाण र मूल्य दुवै घटेको तथ्यांकले देखाएको छ। रासस