• Menu

ई-वेस्टलाई फोहोर होइन, स्रोतका रूपमा उपयोग गरौँ : दीपकुमार महतो

नेपाल प्रफिट

२०८३ असोज २९, बिहीबार १३:४७

ई-वेस्टलाई फोहोर होइन, स्रोतका रूपमा उपयोग गरौँ : दीपकुमार महतो

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपकुमार महतोले विद्युतीय तथा विद्युतीय उपकरणबाट निस्कने फोहोर (ई-वेस्ट) व्यवस्थापनका लागि नेपालमै पुनःप्रशोधन उद्योग स्थापना गर्नुपर्ने बताएका छन् ।

राजधानीमा आयोजित ई-वेस्टसम्बन्धी संवाद कार्यक्रममा बोल्दै उनले मोबाइल फोन, ब्याट्री, कम्प्युटरलगायत विद्युतीय उपकरण प्रयोगपछि फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै तिनको उचित संकलन, वर्गीकरण र पुनःप्रयोगमा जोड दिए ।

महतोले ई-वेस्टको समस्या विश्वव्यापी रूपमा बढ्दै गएको उल्लेख गर्दै यसको उचित व्यवस्थापन नहुँदा वातावरणमा नकारात्मक असर पर्ने बताए । सन् २०२२ मा विश्वभर करिब ६ करोड २० लाख टन ई-वेस्ट उत्पादन भएको तथ्य उल्लेख गर्दै उनले त्यसको ठूलो हिस्सा व्यवस्थित रूपमा संकलन तथा पुनःप्रयोग हुन नसकेकोप्रति ध्यानाकर्षण गराए ।

नेपालमा पनि मोबाइल फोन, ब्याट्री, कम्प्युटर तथा अन्य विद्युतीय उपकरणको प्रयोग बढिरहेको अवस्थामा प्रयोगपछि निस्कने फोहोर व्यवस्थापनका लागि प्रभावकारी प्रणाली आवश्यक रहेको उनको भनाइ थियो । गुणस्तरीय र लामो समयसम्म टिक्ने विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै उनले सस्तो मूल्यका तर छिट्टै बिग्रने सामानको अत्यधिक प्रयोगले ई-वेस्टको मात्रा बढाउन सक्ने बताए ।

उनले नेपालमा ई-वेस्ट प्रशोधन तथा पुनःप्रयोग गर्ने उद्योग स्थापना गर्न सके वातावरण संरक्षणसँगै रोजगारी सिर्जना र औद्योगिक विकासमा समेत योगदान पुग्ने बताए । ई-वेस्टमा रहेका प्लास्टिक, धातु तथा अन्य उपयोगी सामग्री छुट्याएर पुनःप्रयोग गर्न सकिने उल्लेख गर्दै उनले यसबाट नयाँ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ प्राप्त हुनुका साथै आयातमा निर्भरता घटाउन पनि सहयोग पुग्ने धारणा राखे ।

महतोले ई-वेस्टमा रहेका उपयोगी सामग्री पुनःप्राप्ति र प्रशोधनका लागि आवश्यक प्रविधि तथा पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए । विशेषगरी मोबाइल फोन तथा अन्य विद्युतीय उपकरणमा प्रयोग हुने ब्याट्रीको सुरक्षित व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

ब्याट्रीबाट उपयोगी सामग्री पुनःप्राप्ति गर्ने प्रविधिको विकास गर्न सके त्यसलाई वैकल्पिक ऊर्जा प्रणाली तथा अन्य औद्योगिक प्रयोजनमा उपयोग गर्न सकिने सम्भावना रहेको उनले उल्लेख गरे ।

उनले सरकारले ई-वेस्ट व्यवस्थापनलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए । ई-वेस्ट संकलन, प्रशोधन र पुनःप्रयोगका लागि स्पष्ट नीति, आवश्यक लगानी तथा उद्योगमैत्री वातावरण निर्माण गर्न सके यस क्षेत्रलाई नयाँ औद्योगिक अवसरका रूपमा विकास गर्न सकिने उनको धारणा थियो ।

नेपालमा ई-वेस्ट व्यवस्थापनसम्बन्धी उद्योग स्थापना भए वातावरणीय प्रदूषण न्यूनीकरण, स्रोतसाधनको अधिकतम उपयोग, आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनामा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

ई-वेस्टलाई फोहोरका रूपमा मात्र नहेरी पुनःप्रयोग गर्न सकिने स्रोतका रूपमा लिनुपर्नेमा जोड दिँदै महतोले यसको दिगो व्यवस्थापनका लागि सरकार, निजी क्षेत्र र उपभोक्ताबीच सहकार्य आवश्यक रहेको बताए ।