काठमाडौं । एनसेलका ग्राहकले ट्रान्क्विलिटी स्पामा मसाज, शरीरको छाला सफा गर्ने तथा सौन्दर्य सेवामा विशेष छुट पाउने भएका छन् । एनसेल र ट्रान्क्विलिटी स्पाबीचको साझेदारीअन्तर्गत ग्राहकले एकको मूल्यमा दुईवटा सेवा लिन पाउने योजनासहित विभिन्न छुटको सुविधा पाउने भएका हुन् ।
साझेदारीअनुसार रु. ४९९ वा सोभन्दा बढी मूल्यका प्रिपेड प्याक वा पोस्टपेड योजना खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा ‘एक किन्दा अर्को निःशुल्क’ सुविधा पाउनेछन् । एक्लै सेवा लिन चाहने नेपाली ग्राहकले स्पा सेवामा २५ प्रतिशत र सौन्दर्य सेवामा २० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
त्यस्तै, रु. ९९ देखि रु. ४९९ भन्दा कम मूल्यका प्याक वा योजना लिने ग्राहकले पनि विशेष छुट पाउनेछन् । यसअन्तर्गत युवा तथा अन्य ग्राहकले स्पा सेवामा २० प्रतिशत र पर्यटकले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस साझेदारीसम्बन्धी सम्झौता हालै आयोजित एक कार्यक्रममा एनसेलका उत्पादन निर्देशक ललित शारडा र ट्रान्क्विलिटी स्पाका सञ्चालन प्रमुख रनिल फैजुले आदानप्रदान गरेका थिए ।
अफरको लाभ लिन ग्राहकले एनसेलको मोबाइल अनुप्रयोगमा रहेको साझेदार सेवा खण्डमा गएर ट्रान्क्विलिटी स्पा छनोट गर्नुपर्नेछ । त्यसपछि आधिकारिक सेवा केन्द्रमा पुगेर उपलब्ध सुविधा लिन सकिनेछ । ग्राहकले खरिद गरेको प्याक वा योजनाका आधारमा अनुप्रयोगमा उपलब्ध लाभ देखाइनेछ । योग्य प्याक वा योजना नलिएका ग्राहकले तोकिएको योजना खरिद गरेर पनि सुविधा लिन सक्नेछन् ।
साझेदारीबारे टिप्पणी गर्दै एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ताले ग्राहकलाई सञ्चार सेवामा मात्र सीमित नराखी थप उपयोगी सुविधा प्रदान गर्नु कम्पनीको उद्देश्य रहेको बताए ।
‘हाम्रो ध्यान सञ्चार सम्पर्कमा मात्र सीमित नभई ग्राहकहरूका लागि अर्थपूर्ण मूल्य सिर्जना गर्नमा केन्द्रित छ,’ उनले भने, ‘स्वस्थ जीवनशैलीसँग सम्बन्धित सेवालाई एनसेलको सेवा सञ्जालमा जोडेर ग्राहकका लागि थप सान्दर्भिक र सहज बनाउने हाम्रो लक्ष्य हो ।’
उनले यस सहकार्यले ग्राहकको सहभागिता बढाउनुका साथै एनसेललाई उनीहरूको दैनिक जीवनको अभिन्न हिस्सा बनाउने प्रतिबद्धता प्रतिबिम्बित गर्ने बताए ।
एनसेलले साझेदार संस्थाको सञ्जाल विस्तार गर्दै ग्राहकलाई थप सुविधा र लाभ प्रदान गर्ने निरन्तर प्रयासअन्तर्गत ट्रान्क्विलिटी स्पासँग सहकार्य गरेको जनाएको छ ।