एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा तेल, ग्यास तथा खनिजको विशाल भण्डार अन्वेषण गर्ने तयारी भइरहेको बताएका छन् । उनले ग्रिनल्यान्डलाई अमेरिका र युरोपको सुरक्षाका दृष्टिले रणनीतिक महत्त्व बोकेको क्षेत्रका रूपमा प्रस्तुत गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको अन्वेषण सुरु गर्ने तयारी भइरहेको उल्लेख गरेका हुन् । उनले विज्ञहरूलाई उद्धृत गर्दै त्यहाँ सहजै उत्खनन गर्न सकिने तेलको मात्रा विश्वका अन्य क्षेत्रको तुलनामा निकै बढी रहेको दाबी गरेका छन् । यद्यपि, यस अभियानमा अमेरिकाको संलग्नताबारे उनले विस्तृत जानकारी दिएका छैनन् ।
अमेरिका र रुसबीच क्षेप्यास्त्र प्रहारका लागि सबैभन्दा छोटो मार्गमा पर्ने ग्रिनल्यान्ड अमेरिकी प्रस्तावित ‘गोल्डेन डोम’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि पनि महत्त्वपूर्ण मानिन्छ । यस क्षेत्रमा दुर्लभ पृथ्वीका खनिजको उत्खनन नगरिएका भण्डार रहेको बताइन्छ । त्यस्तै, ध्रुवीय बरफ पग्लिँदै जाँदा नयाँ समुद्री ढुवानी मार्ग खुल्न सक्ने सम्भावनाले पनि ग्रिनल्यान्डको रणनीतिक तथा आर्थिक महत्त्व बढाएको छ ।
ग्रिनल्यान्डमाथि बलपूर्वक नियन्त्रण कायम गर्ने धम्की दिएका ट्रम्पले गत सेप्टेम्बरमा ग्रिनल्यान्ड र डेनमार्कका नेताहरूसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । उक्त सम्झौताअनुसार अमेरिकाले ग्रिनल्यान्डको दक्षिणी भागमा नरसारुआक र पूर्वी भागमा मेस्टर्सभिगमा दुई सैन्य आधार निर्माण गर्ने उल्लेख छ । यसअघि नै टापुको उत्तरी क्षेत्रमा पिटफिक सैन्य आधार सञ्चालनमा छ ।
ट्रम्पले ग्रिनल्यान्डको भौगोलिक अवस्थिति अमेरिकाको प्रतिरक्षाका लागि उपयोगी रहेको बताउँदै त्यहाँबाट अमेरिकामाथि हुन सक्ने सम्भावित आक्रमण रोक्न सकिने दाबी गरेका छन् । उनका अनुसार प्रस्तावित अमेरिकी प्रतिरक्षा प्रणालीले ड्रोन, क्षेप्यास्त्र तथा भविष्यमा विकसित हुन सक्ने अन्य हतियारलाई समेत नष्ट गर्न सक्नेछ ।
यसैबीच, गत अगस्टमा पूर्वी ग्रिनल्यान्डको दुर्गम क्षेत्रमा अमेरिकी तेल कम्पनीले प्रारम्भिक काम गरिरहेको भन्ने सञ्चारमाध्यमका समाचार सार्वजनिक भएपछि स्थानीय बासिन्दा तथा अधिकारीहरूले चिन्ता व्यक्त गरेका थिए ।
ग्रिनल्यान्डमा प्राकृतिक स्रोतको सम्भावना, सुरक्षा रणनीति र नयाँ समुद्री मार्गको विकाससँगै यस क्षेत्रप्रति अमेरिकी चासो बढ्दै गएको छ । तर, तेल तथा खनिज अन्वेषणसम्बन्धी योजनाको कार्यान्वयन र त्यसमा अमेरिकाको वास्तविक संलग्नताबारे थप विवरण सार्वजनिक हुन बाँकी छ । रासस