• Menu

चीनको व्यापार बचत ९ महिनामै ९३८ अर्ब डलर

नेपाल प्रफिट

२०८३ असोज २८, बुधबार १६:४४

चीनको व्यापार बचत ९ महिनामै ९३८ अर्ब डलर

एजेन्सी  । चीनको व्यापार बचत सन् २०२६ को पहिलो ९ महिनामै ९३८ अर्ब अमेरिकी डलर पुगेको छ । सेप्टेम्बरमा निर्यात ३६.३ प्रतिशतले बढेपछि चीनले गत वर्ष कायम गरेको १२ खर्ब अमेरिकी डलरको कीर्तिमानी वार्षिक व्यापार बचतसमेत उछिन्ने सम्भावना बढेको छ ।

चिनियाँ भन्सार निकायका अनुसार सेप्टेम्बरमा आयात ३१ प्रतिशतले बढेको थियो । यससँगै चीनको मासिक व्यापार बचत अगस्टको ११९.१ अर्ब डलरबाट बढेर सेप्टेम्बरमा १३३.५ अर्ब डलर पुगेको छ ।

चीनको निर्यात वृद्धिमा उच्च प्रविधिका सामग्रीको महत्त्वपूर्ण योगदान देखिएको छ । जनवरीदेखि सेप्टेम्बरसम्म अर्धचालकको निर्यात १०८.१ प्रतिशतले बढेको छ । त्यस्तै, तथ्यांक प्रशोधन उपकरण तथा तिनका पार्टपुर्जाको निर्यात ५४.६ प्रतिशत र सवारीसाधनको निर्यात ५४.३ प्रतिशतले बढेको छ ।

निर्यातमा भएको तीव्र वृद्धिले घरेलु उपभोग र लगानी सुस्त रहेको चीनको अर्थतन्त्रलाई केही राहत दिएको छ । तथापि, घरजग्गा क्षेत्रको मन्दीले अर्थतन्त्रमा चुनौती थपिरहेको छ । चीनले सन् २०२६ मा ४.५ देखि ५ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । तर अन्तर्राष्ट्रिय मुद्राकोषले चीनको आर्थिक वृद्धिदरको अनुमान घटाएर ४.५ प्रतिशतमा झारेको छ ।

चीनको बढ्दो व्यापार बचतले अमेरिका र युरोपेली संघसँग व्यापारिक तनाव थप चर्किन सक्ने देखिएको छ । युरोपेली संघले चीनसँगको दैनिक एक अर्ब १० करोड डलरभन्दा बढीको व्यापार घाटा घटाउन प्रयास गरिरहेको छ । युरोपेली संघका व्यापार प्रमुख मारोस सेफकोभिचले आगामी केही वर्षमा चीनबाट हुने हाइब्रिड कारको आयात आधा गर्ने विषयमा सहमति भएको बताएका थिए ।

विश्लेषकहरूका अनुसार चिनियाँ मुद्राको कमजोर विनिमय दरले त्यहाँ उत्पादित सामानलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गरेको छ । तर पश्चिमी बजारमा व्यापारिक दबाब बढ्दै गएको छ । दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकामा निर्यात विस्तार भए पनि त्यसले पश्चिमी बजारको मागलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न नसक्ने उनीहरूको भनाइ छ ।

अर्थशास्त्री म्याक्स जेङ्गलेनका अनुसार विश्वव्यापी रूपमा कृत्रिम बौद्धिकतासम्बन्धी क्षेत्रमा लगानी सुस्त भए चीनबाट निर्यात हुने उच्च प्रविधियुक्त सामग्रीको मागमा समेत असर पर्न सक्छ ।

चीनले आन्तरिक माग बढाउन घर खरिदकर्ताको धितो ऋणको ब्याजमा अनुदान दिने लगायतका उपाय अघि सारेको छ । यद्यपि, घरेलु उपभोग र लगानीलाई दिगो रूपमा सुदृढ बनाउनु चीनका लागि चुनौतीपूर्ण बनेको छ ।

यसैबीच, चीनले आगामी साता सन् २०२६ को जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिक आर्थिक वृद्धिदर सार्वजनिक गर्ने तयारी गरेको छ । उक्त विवरणले चीनको अर्थतन्त्रको पछिल्लो अवस्था र निर्यातमा निर्भर वृद्धिको प्रभावबारे थप संकेत दिने अपेक्षा गरिएको छ । रासस