• Menu

दसैँमा खसीबोकाको माग बढेपछि धनुषाको सखुवा बजार सातामा ३ दिन सञ्चालन हुने

नेपाल प्रफिट

२०८३ असोज २८, बुधबार १७:२५

दसैँमा खसीबोकाको माग बढेपछि धनुषाको सखुवा बजार सातामा ३ दिन सञ्चालन हुने

धनुषा । दसैँमा खसीबोकाको खरिदबिक्री बढेपछि धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-६ स्थित सखुवा खसीबोका बजार तीन दिन सञ्चालन हुने भएको छ।

बजार व्यवस्थापन समितिका अनुसार दसैँका अवसरमा खसीबोका खरिद गर्ने उपभोक्ता तथा बिक्रीका लागि ल्याउने किसान र व्यापारीको सुविधालाई ध्यानमा राख्दै बिहीबार, शुक्रबार र शनिबार बजार सञ्चालन गर्न लागिएको हो।

यसअघि उक्त बजार सातामा दुई दिन मंगलबार र शनिबार मात्र सञ्चालन हुँदै आएको थियो। बजारका ठेकेदार अनिल चौधरीले दसैँका बेला खसीबोकाको माग र खरिदबिक्री गर्नेको चाप बढेकाले बजार सञ्चालन अवधि थप गरिएको बताए ।

चाडपर्वका समयमा उपभोक्ताले आफूलाई आवश्यक खसीबोका सहज रूपमा खरिद गर्न तथा किसान र व्यापारीले बिक्री गर्न पाउने वातावरण बनाउन बजार सञ्चालनको समय बढाइएको उनले जानकारी दिए ।

सखुवास्थित मधेसी खसीबोका बजार स्थानीय किसान तथा पशुपालकका लागि उत्पादन बिक्री गर्ने महत्वपूर्ण स्थल हो। किसानले घरपालुवा खसीबोका बजारमा ल्याएर बिक्री गर्न पाउने भएकाले चाडपर्वको समयमा आम्दानी बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

व्यापारी महेन्द्र यादवले खसीबोकाको बिक्रीवितरण बढेसँगै बजारमा चहलपहल बढेको बताए । बजार तीन दिन सञ्चालन हुँदा उपभोक्ताले आफूलाई अनुकूल समयमा खसीबोका खरिद गर्न पाउने तथा किसान र व्यापारीलाई बिक्री व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।

दसैँ नजिकिँदै जाँदा खसीबोका खरिद गर्ने उपभोक्ताको चहलपहल बढेको छ। यस अवधिमा स्थानीय किसान, व्यापारी तथा अन्य व्यवसायीले समेत लाभ लिन सक्ने अपेक्षा गरिएको छ।