म्याग्दी । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन मध्य कालीगण्डकी जलविद्युत आयोजनाको स्थलगत भ्रमण तथा अवलोकन गरेका छन् ।
भ्रमणका क्रममा उनले कालीगण्डकी नदीमा हालै आएको भीषण बाढीले सडक, पुल, स्थानीय बस्ती तथा जनजीवनमा पुर्याएको क्षतिको प्रत्यक्ष अवलोकन गरेका हुन् । बाढीले निम्त्याएको विनाशले आफूलाई भावुक र स्तब्ध बनाएको उल्लेख गर्दै उनले प्राकृतिक विपत्तिले प्रभावित क्षेत्रको अवस्था हृदयविदारक बनेको बताएका छन् ।
यद्यपि, विपत्तिका बीच अवरुद्ध सडक, भत्किएका पुल तथा अन्य संरचनाको पुनर्निर्माण र मर्मत कार्य तीव्र गतिमा अघि बढिरहेको देख्दा आशा जागेको उनले बताएका छन् । अहोरात्र खटिएका प्राविधिक, कर्मचारी तथा सुरक्षाकर्मीको प्रयासबाट अवरुद्ध बेनी-जोमसोम सडकखण्ड पुनः सञ्चालनमा आउनु सकारात्मक भएको उनको भनाइ छ।
सडक पुनः सञ्चालनमा आएपछि स्थानीय बासिन्दा, यात्रु तथा सामान ढुवानीमा सहजता आएको छ। साथै, मुक्तिनाथ दर्शनका लागि जाने तीर्थयात्री तथा जोमसोम, लोमान्थाङ र कोरला नाकासम्म पुग्ने पर्यटक र सर्वसाधारणलाई समेत राहत पुगेको उनले उल्लेख गरे ।
विपद् व्यवस्थापन, सडक पुनर्स्थापना तथा राहत कार्यमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष ढकालले नेपाल सरकार, गण्डकी प्रदेश सरकार र स्थानीय तहप्रति आभार व्यक्त गरेका छन् । उनले सडक विभाग, बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालयका प्राविधिक तथा कर्मचारी र सुरक्षा निकायका सदस्यहरूको समर्पण र योगदानको प्रशंसासमेत गरे ।
बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष ढकालले शोकसन्तप्त परिवार तथा प्रभावित नागरिकप्रति समवेदना व्यक्त गरे ।
भौतिक क्षति ठूलो भए पनि सामूहिक संकल्प, आत्मबल, समन्वय र सहकार्यबाट विपत्तिको सामना गर्दै प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनरुत्थान गर्न सकिने विश्वास उनले व्यक्त गरेका छन् ।