काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई लक्षित गरी नेपाल टेलिकमले विभिन्न राहत तथा सञ्चार सुविधा थप गरेको छ ।
कम्पनीले रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँका बाढी प्रभावित नागरिक तथा पृथ्वी राजमार्गअन्तर्गत गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेँसी र मुग्लिन-नारायणगढ सडक क्षेत्र आसपासका प्रभावितलाई लक्षित गरी विभिन्न सुविधा उपलब्ध गराएको हो ।
नेपाल टेलिकमद्वारा जारी विज्ञप्तिअनुसार बाढीका कारण क्षति भएका र पुनः प्रयोग गर्न नसकिने अवस्थामा रहेका एनटी फाइबर केबल तथा राउटर निःशुल्क उपलब्ध गराई जडान गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, एनटी फाइबर प्रयोग गरिरहेका ग्राहकको सेवा अवधि समाप्त भएमा थप तीन महिनाका लागि निःशुल्क सेवा उपलब्ध गराइने भएको छ ।
टेलिकमका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका ग्राहकको नाममा रहेको सिमकार्ड पुनः वितरण गरिनेछ । त्यसका लागि पाँचवटा सम्पर्क नम्बर उपलब्ध गराउनुपर्ने, ती नम्बर सक्रिय रहेको अन्तिम स्थान बाढी प्रभावित क्षेत्रमा रहेको हुनुपर्ने र सम्बन्धित नम्बरको ग्राहक पहिचान विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।
बाढीका कारण विभिन्न स्थानमा फसेका व्यक्तिसँग सञ्चार सम्पर्क कायम गर्न नेपाली सेनाको समन्वयमा २१० थान सिमकार्ड उपलब्ध गराइएको पनि टेलिकमले जनाएको छ । ती सिमकार्डको विवरण अद्यावधिक गरी अभिलेख राख्ने व्यवस्था गरिएको छ ।
यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको एकीकृत विपद् सूचना व्यवस्थापन केन्द्रमा रहेको मुख्य सर्भरदेखि प्राधिकरणको वैकल्पिक सर्भरसम्म निःशुल्क जडानका लागि डार्क फाइबरमार्फत भौतिक सम्पर्क स्थापना गरिएको छ ।
विज्ञप्तिअनुसार बाढी प्रभावित नागरिकलाई प्राथमिक मनोवैज्ञानिक सहयोग तथा मनोपरामर्श सेवा उपलब्ध गराउँदै आएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र-नेपालको निःशुल्क टेलिफोन नम्बर १८१०५०००४०२ मा तीन महिनासम्मको मासिक शुल्कसमेत निःशुल्क गरिने भएको छ ।
टेलिकमले जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा नेपाल प्रहरी विपद् उद्धार एवम् प्रतिकार्य तालिम केन्द्र र राधास्वामी सत्सङ्ग व्यास नेपाल, सामाखुसी केन्द्रमा राहत संकलन तथा व्यवस्थापनका लागि एक महिनासम्म १०० एमबिपिएस क्षमताको निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।
जिल्ला प्रशासन कार्यालय भरतपुरमा रहेको विपद् व्यवस्थापन एकाइका लागि एक वर्षसम्म १०० एमबिपिएस क्षमताको निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
त्यसैगरी, रसुवा बाढीबाट प्रभावित क्षेत्रबाट प्राप्त हुने सूचना, क्षति विवरण, राहत तथा उद्धारसम्बन्धी जानकारी, स्थलगत प्रतिवेदन, तस्बिर तथा भिडियो लगायतका तथ्यांक समयमै संकलन तथा प्रवाह गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक वर्षका लागि उच्च गतिको निःशुल्क इन्टरनेट तथा प्राविधिक सहयोग उपलब्ध गराइएको छ ।
कम्पनीले बाढी प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कर्मचारीको योगदानसहित विभिन्न शीर्षकमा यसअघि करिब २० करोड रुपैयाँ सहयोग उपलब्ध गराइसकेको जनाएको छ ।
बाढीका कारण दूरसञ्चार पूर्वाधारमा करोडौँ रुपैयाँ बराबरको क्षति पुगेकाले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा सेवा पुनर्स्थापनाको कामसमेत निरन्तर भइरहेको टेलिकमले जनाएको छ ।