• Menu

बाढीले जोखिममा परेका बस्तीलाई सुरक्षित ठाउँमा सार्ने तयारी, संघीय सरकारले नीतिगत र आर्थिक सहयोग गर्ने

नेपाल प्रफिट

२०८३ असोज ५, सोमबार १७:४०

बाढीले जोखिममा परेका बस्तीलाई सुरक्षित ठाउँमा सार्ने तयारी, संघीय सरकारले नीतिगत र आर्थिक सहयोग गर्ने

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी प्रभावितलाई सुरक्षित स्थानमा एकीकृत बस्ती विकास गरी पुनर्स्थापना गर्ने योजना अघि बढाइने बताएका छन् ।

सूचना तथा सञ्चार मन्त्रालयमा सोमबार उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालसँग भएको भेटमा मन्त्री तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा भइरहेको राहत, उद्धार, सुरक्षा व्यवस्था तथा पुनर्स्थापनाका विषयमा छलफल गरेका हुन् ।

मन्त्री तिमिल्सिनाले जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाल्न नहुने भएकाले सुरक्षित स्थान पहिचान गरी एकीकृत बस्ती विकासको अवधारणाअनुसार पुनर्स्थापनाको तयारी गर्नुपर्ने बताए । यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी योजना अघि बढाइने उनले जानकारी दिए ।

भविष्यमा बाढी तथा अन्य विपद्बाट प्रभावित नहुने गरी सुरक्षित स्थानमा बस्ती विकासका लागि आवश्यक तयारी भइरहेको मन्त्री तिमिल्सिनाले बताए । पुनर्स्थापनाका लागि गिट्टी, बालुवा, काठलगायत स्थानीय स्रोतसाधनको व्यवस्थापन स्थानीय तहबाट गर्न सकिने तथा संघीय सरकारले आवश्यक नीतिगत, आर्थिक र प्राविधिक सहयोग गर्ने उनको भनाइ छ ।

भेटमा उत्तरगया गाउँपालिका अध्यक्ष अर्यालले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका काम अझ व्यवस्थित बनाउनुपर्ने विषयमा मन्त्रीको ध्यानाकर्षण गराए । प्रभावितको तथ्यांक तथा विवरणमा एकरूपता कायम गर्नुपर्ने तथा अस्थायी आवास र दीर्घकालीन पुनर्स्थापनाका लागि छुट्टाछुट्टै समिति बनाएर काम गर्नुपर्ने उनले बताए ।

विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट भइरहेको सहयोगलाई प्रभावितको आवश्यकताका आधारमा व्यवस्थित गर्नुपर्नेमा पनि अध्यक्ष अर्यालले जोड दिए ।

छलफलमा प्रभावितको वास्तविक आवश्यकता पहिचान गरी उपलब्ध स्रोतसाधन उचित रूपमा वितरण गर्ने तथा बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको लालनपालन, पठनपाठन र भविष्यको व्यवस्थापनमा विशेष ध्यान दिने विषयमा समेत छलफल भएको थियो ।

सम्बन्धित समाचार